ताप्लेजुङमा पहिलो पटक साईबर मुद्दा दर्ता ,धरौटी तिर्न नसकेर जेल चलान
ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक साइबर अपराध सम्बन्धी सम्बन्धी मुद्दा परेका छ । साइवर अपराध कसुरका ताप्लेजुङ जिल्ला अदालतबाट ५० हजार धरौटी माग गर्दा सो तिर्न नसक्दा कारागार चलान भएको छ ।
कारागार चलान हुनेमा सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका गिरीजा ढकाल रहेको जिल्ला अदालतले जनाएको छ ।
अदालत स्रोतका अनुसार ढकाललाई ५० हजार रुपैयाँ धरौटी माग भएको थियो । माग भएको धरौटी बुझाउन नसकेपछि ढकाल कारागार चलान हुनु भएको हो । फेसबुक सहितका सामाजिक सञ्जालमा तथ्यहीन आरोप लगाउँदै जथाभावी लेख्ने क्रम बढेको भन्दै ढकाल बिरुद्ध केहि स्थानीयले साइवर अपराधको मुद्दा दर्ता गरेका थिए । अहिले साइवर अपराध सम्वन्धी मुद्दा देशभरका सबै जिल्ला अदालतहरुमा समेत दर्ता गर्न पाउने व्यवस्था रहेको छ ।
साइबर अपराध गर्नेलाई कसुरको प्रकृति हेरी १ वर्षदेखि ५ वर्षसम्म कैद र १ लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको छ ।
नेपालमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिन्छ सामाजिक सञ्जालको दुरुपयोग कसैको चरित्र हत्या गर्ने, धम्की दिने वा अश्लील सामग्री फैलाउनेलाई २ वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिबाना हुन् भने ह्याकिङ र अनधिकृत पहुँच कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच बनाउनेलाई ५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । त्यस्तै गोपनीयता हनन कसैको व्यक्तिगत विवरण वा पासवर्ड चोर्नेलाई १ देखि २ वर्षसम्म कैद र १ देखि २ लाख रुपैयाँसम्म जरिबाना व्यवस्था रहेको छ ।


















