माथिल्लो काबेलीको सुरुङ निर्माण कार्यमा ‘ब्रेकथ्रु’
ताप्लेजुङ। ताप्लेजुङस्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाको सिमाना भई बग्ने काबेली खोलाबाट उत्पादन गर्न लागिएको जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्ने काम सम्पन्न भएको हो ।
आयोजना प्रवन्धक प्रकाश ढुङ्गानाका अनुसार आइतबारसम्ममा सुरुङ निर्माणको काम सम्पन्न भएको छ । कुल २८.१ मेगावाट क्षमताको आयोजनाको मुख्य सुरुङ निर्माण कार्य पूरा भएसँगै सबै सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजना प्रवन्धक ढुङ्गानाले जानकारी दिनुभयो ।
आयोजनाको मुख्य र अडिसहित पाँच हजार ६०० मिटर दूरी बराबरको सुरुङ निर्माण गर्ने काम सम्पन्न भएको ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार करिब चार हजार ८०० मिटर दूरी रहेको मुख्य सुरुङ निर्माणको काम आइतबार सम्पन्न भएको हो ।
यसअघि गत साउन पहिलो साता इन्टेक जोड्ने अडिट सुरुङ निर्माणको काम सम्पन्न भएको थियो । सुरुङहरु निर्माण गर्ने कार्य सम्पन्न भएसँगै आयोजना निर्माणको करिब ७५ प्रतिशत काम पूरा भएको आयोजना प्रवन्धक ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्य सुरुङसँगै पाइप बिछ्याउने, प्रसारण लाइनको तार टाङ्नेसहित पेनस्टक टनेल, इन्टेकलगायतका संरचना निर्माणको काम पूरा भइसकेको छ ।
हालसम्म करिब ५० प्रतिशत प्रगति भइसकेको बालुवा थिग्राउने पोखरीको काम र अन्य केही संरचनाहरू निर्माणको काम मात्र बाँकी रहेको आयोजना प्रवन्धक ढुङ्गानाले जानकारी दिनुभयो ।
आउँदो दसैँ तिहारको समय असोज–कात्तिकसम्ममा आयोजनाबाट उत्पादन हुने विद्युत्को परीक्षण गर्ने लक्ष्यसहित हाल कामलाई तीब्रता दिँदै आएको उहाँले बताउनुभयो । आयोजनाको मुहान (बाँघ) सिरिजङ्घा गाउँपालिका–४ तेल्लोक पुछारमा रहेको छ । विद्युत् गृह वडा नम्बर १ र २ को सिमाना नेबु खोला दोभानमा छ । पिस इनर्जी कम्पनी लिमिटेड प्रवर्धक कम्पनी रहेको आयोजनाको कुल लागत रकम पाँच अर्ब ६४ करोड ६९ लाख रुपियाँ रहेको छ ।
लागत रकममध्ये ७५ प्रतिशत हिस्सा नेपाली बैँकहरूको ऋण लगानी रहेको र बाँकी २५ प्रतिशत लगानी प्रवर्धक कम्पनीको रहेको बताइएको छ । माथिल्लो काबेलीबाट उत्पादित विद्युत् पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभिए क्षमताको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने छ ।
यता आयोजनाको मुख्य प्रभावित क्षेत्रमा सिरिजङ्घा गाउँपालिका–१, सिनाम, वडा २ आम्बेगुदिन र ४ तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको वडा ५ लिम्बुदिन, वडा ६ मेहेले पर्दछ ।-gorkhapatraonline



















