ताप्लेजुङमा बृक्षारोपण गरेर मनाइयो वातावरण दिवस
ताप्लेजुङ । ताप्लेजुङमा वृक्षारोपण, झाडी सफाइ र बिरुवा गोडमेल गरेर विश्व वातावरण मनाइएको छ । डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूहसहित विभिन्न सङ्घ संस्थाले वृक्षारोपण, झाडी सफाइ लगायतका गतिविधि गरेर वातावरण दिवस मनाएका हुन् ।
‘समृद्ध भविश्यको आधारः जलवायु एवम् प्रविधिमैत्री विकास’ भन्ने नारासहित डिभिजन वन कार्यालय ताप्लेजुङले सडक किनारा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयको आयोजनामा फुङ्लिङ नगरपालिका–३ केनिमस्थित बहानन्दे–दोभान खण्डअन्तर्गत सडक किनारामा वृक्षारोपण गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामासहितका जनप्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालयका कर्मचारी लगायतको सहभागितामा वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा सडक किनारामा कल्की फूलको बिरुवा रोपिएको निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवले जानकारी दिनुभयो ।
यस्तै विश्व वातावरण दिवसकै अवसरमा बामथुम्की तथा सिउरेनी सामुदायिक वन उपभोक्ता समूह फुङ्लिङ नगरपालिका वडा नं ७ र ८ को आयोजनामा झाडी सफाइ र बिरुवा गोडमेल कार्य गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार करिव ३० हेक्टर क्षेत्रफलमा सामुदायिक वनमा झाडी सफाइ र रुख बिरुवा गोडमेल गरिएको छ ।
वन संरक्षण गर्ने, व्यवस्थापन तथा वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहित झाडी सफाइ र बिरुवा गोडमेल गरिएको महासङ्घका जिल्ला अध्यक्ष ओझाले बताउनुभयो । प्रत्येक उपभोक्ताहरु सहभागी भएर झाडी सफाइ तथा बिरुवा गोडमेलको कार्य गरिएको समूहका अध्यक्ष पदम लिम्बूले जानकारी दिनुभयो । यसैगरी जिल्लाका अन्य निकाय र विद्यालयहरुले वृक्षारोपण, सरसफाई लगायतका गतिविधि गरेर विश्व वातावरण दिवस मनाएको बनाइएको छ ।



















