रास्वपाको ताप्लेजुङ प्रथम अधिवेशन सुरु

वेलकम खबर
जेष्ठ २३, २०८३

ताप्लेजुङ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको प्रथम जिल्ला अधिवेशन सुरु भएको छ । रास्वपाको नयाँ जिल्ला नेतृत्व चयन गर्ने गरी प्रथम जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको हो ।

सदरमुकाम फुङलिङमा सुरु भएको जिल्ला अधिवेशनको प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) ले उद्घाटन गर्नुभएको छ । अधिवेशनको उद्घाटन गर्नुहुँदै रास्वपा नेता एवं प्रतिनिधिसभा सदस्य शेर्पाले जिल्ला नेतृत्व सर्वसम्मत ढङ्गले चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सभापतिसहित पदाधिकारी र कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेर रास्वपालाई जिल्लामा मजबुत पार्टी बनाउनुपर्ने शेर्पाले बताउनुभयो । उहाँले पार्टी र सङ्गठन बलियो बनाउनका लागि नेतृत्व सर्वसम्मत चयन गरेमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय सदस्य रामप्रसाद भट्टराईले पनि सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली कांगेसका जिल्ला सचिव गणेशबाबु निरौला, नेकपा (एमाले) का जिल्ला सचिव सन्तोष चाम्लिङ, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिनुभएको छ । अधिवेशनमा रास्वपाका नेता मिङ्मादण्डु शेर्पा, मानवीय विकास प्रवर्द्धन केन्द्रीय विभाग सदस्य इन्दिरा मेन्याङ्बो लगायत विभिन्न केन्द्रीय विभागका सदस्यहरू अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

यता, जिल्ला सभापतिका लागि राजन गुरुङ, उपसभापतिमा छत्रबहादुर विश्वकर्मा र निर्मला खिम्दिङ लिम्बू, दुर्गाप्रसाद न्यौपाने, सचिवमा लीलाराज पौडेल तथा उपसचिवमा गोपाल गुरागाईं लगायतको नाम चर्चामा रहेको छ । जिल्ला सभापतिमा वर्तमान सभापति वीरेन्द्र श्रेष्ठको यस पटक दाबी नरहने बताइएको छ ।

जिल्ला सभापति श्रेष्ठका अनुसार उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने र सकेसम्म शनिबार आजै नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । जिल्ला अधिवेशनमा यहाँका नौवटै स्थानीय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको रास्वपा ताप्लेजुङले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*