७७ जिल्लामै पुग्यो एसइई प्रश्नपत्र

वेलकम खबर
चैत्र ११, २०८२

१९ चैतदेखि सुरु हुने एसइई सञ्चालन गर्न १९ सय ९१ परीक्षा केन्द्र, ५ लाख ९ हजार ९६१ परीक्षार्थी सामेल हुँदै

१९ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ७७ जिल्लामै प्रश्नपत्र पुगेको छ । सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्‍याइएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो । उक्त प्रश्नपत्र र उत्तरपुस्तिका प्रहरीले परीक्षा मितिकै दिन वा अवस्था हेरेर त्यसअघि नै जिल्ला शिक्षा समन्वय इकाइसँग सहकार्य गरी परीक्षा केन्द्रहरूमा पु¥याउने योजना छ । जापानमा एकसहित देशभर एक हजार ९९१ परीक्षा केन्द्र तोकिएको छ भने पाँच लाख नौ हजार परीक्षार्थी सामेल हुँदै छन् । कुल परीक्षार्थीमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन् ।

‘एसइई आउन अब केही दिन मात्रै बाँकी छ । प्रश्नपत्र छाप्ने तथा सम्बन्धित जिल्लाहरूमा परीक्षा केन्द्र व्यवस्थापन गर्ने कार्य भइसकेको छ । सुरक्षा निकायसँग पनि सुरक्षा प्रबन्धबारे छलफल भइरहेको छ,’ परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले भने, ‘परीक्षा मर्यादित रूपमा सञ्चालन हुन्छ, विद्यार्थीलाई परीक्षा हलमा कुनै पनि प्रकारको डिभाइस प्रतिबन्ध छ, परीक्षा केन्द्रहरू सुरक्षित बनाएका छौँ ।’ एसइईको प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापेको हो । १९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । फाराम भरेका पाँच लाख नौ हजार ९६१ विद्यार्थीमा नियमिततर्फका चार लाख ४६ हजार ५७६ र गे्रडवृद्धितर्फका ६३ हजार ४८५ छन् ।

अधिकांश परीक्षा केन्द्र सामुदायिक विद्यालयमा तोकिएको छ । केही भौतिक संरचना व्यवस्थित भएका र विद्यार्थी संख्या बढी भएका निजी विद्यालयमा पनि केन्द्र पारिएको छ । अधिकांश केन्द्रमा विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । तर, आफ्नै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ भने सोही विद्यालयको प्रधानाध्यापक केन्द्राध्यक्ष बन्न पाउँदैनन् । विद्यालय साटासाट गरेर खटाइने बोर्डले जनाएको छ ।

परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउनेछ । परीक्षा बोर्डका प्रतिनिधि पनि अनुगमनमा पुग्नेछन् । सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समन्वय इकाइले परीक्षा केन्द्रहरूमा अनुगमन गर्नेछ । पहिलो दिन १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, २४, २५, २६, २७, २८ र २९ चैतमा प्राविधिक धारतर्फका पुरानो र नयाँ पाठ्यक्रममा आधारित विषयको परीक्षा सञ्चालन हुने बोर्डको परीक्षा तालिकामा उल्लेख छ ।

‘परीक्षाको तालिका लगातार छ, बिचमा बिदा राखेका छैनौँ, त्यसकारण विद्यार्थीले परीक्षाकै वेलाभन्दा पनि पहिले नै बढी तयारी भएर बस्नुपर्ने देखिन्छ,’ बोर्डका डेपुटी कन्ट्रोलर ज्ञवालीले भने, ‘परीक्षालाई लक्षित गरेर निजी र सामुदायिक विद्यालयले अतिरिक्त कक्षा पनि सञ्चालन गरिरहेका छन्, त्यसले विद्यार्थीलाई पक्कै सहज हुनेछ ।’ एसइईलक्षित गर्दै अधिकांश स्थानीय तहहरूले सामुदायिक विद्यालयलाई विद्यार्थीको मागअनुसारको थप कक्षा पनि सञ्चालन गर्न निर्देशन दिएका छन् । अधिकांश सामुदायिक विद्यालयले बिहान १० बजेभन्दा अघि र बेलुकी ५ बजेपछि अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन् ।

जापानमा एउटा परीक्षा केन्द्र, २३ विद्यार्थी
एसइई दिने विद्यार्थीका लागि जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बोर्डका अनुसार जापानबाट यसपालि २३ विद्यार्थीले एसइई दिँदै छन् । त्यहाँस्थित नेपाली दूतावाससँगको समन्वयमा परीक्षा गरिने बोर्डले जनाएको छ ।

विष्णु ज्ञवाली, डेपुटी कन्ट्रोलर, परीक्षा बोर्ड
एसइई आउन अब केही दिन मात्रै बाँकी छ । प्रश्नपत्र छाप्ने तथा सम्बन्धित जिल्लाहरूमा परीक्षा केन्द्र व्यवस्थापन गर्ने कार्य भइसकेको छ । सुरक्षा निकायसँग पनि सुरक्षा प्रबन्धबारे छलफल भइरहेको छ । परीक्षा मर्यादित रूपमा सञ्चालन हुन्छ, विद्यार्थीलाई परीक्षा हलमा कुनै पनि प्रकारको डिभाइस प्रतिबन्ध छ, परीक्षा केन्द्रहरू सुरक्षित बनाएका छौँ ।

तथ्यांकमा एसइई
नियमित परीक्षार्थी : ४ लाख ४६ हजार ५७६
गे्रडवृद्धितर्फका :  ६३ हजार ४८५
परीक्षा केन्द्र : १,९९१ (जापानमा एक केन्द्र, २३ परीक्षार्थी)
विद्यालय संख्या : ११ हजार ३७९

असार तेस्रो साता नतिजा सार्वजनिक
एसइई सकिएलगत्तै देशका अधिकांश जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा कापी परीक्षण हुनेछ भने कतिपय सुरक्षा संवेदनशील भएका जिल्लाको कापी परीक्षणको ठाउँ बोर्डले नै तोक्नेछ । बोर्डले परीक्षा सकिएको ठिक तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने वार्षिक क्यालेन्डर नै तय गरेको छ । असार तेस्रो साता नतिजा प्रकाशन गर्ने गरी परीक्षालगत्तै कापी परीक्षण थालिने बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*