सकसका बीच मन्त्री टुंग्याउँदै रवि बालेन

१६ देखि १८ जनासम्म छानिने
वेलकम खबर
चैत्र ११, २०८२

काठमाडौं ।शुक्रवार प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छनोट अन्तिम चरणमा पुगेको छ । मन्त्री आकांक्षीको भीडबीच पार्टी अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता शाह अन्तिम सूची टुंग्याउने कसरतमा जुट्नुभएको छ । दुवै नेताका निकटहरू मन्त्री बन्न दौडधुपमा छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि बालेन र रविलाई मन्त्री छनोटमा सकस परेको छ ।
सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डीपी) अर्याल र डा। स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता केही दिनदेखि मन्त्री छनोटका लागि आन्तरिक छलफलमा व्यस्त छन् । छलफलमा व्यस्त भएका नेता पनि आफू मन्त्री हुने कि नहुने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

रास्वपाका सांसद एवं बालेननिकट नेता राजुनाथ पाण्डेले हालसम्म मन्त्री बन्नेहरूको टुंगो लागिनसकेको बताउनुभयो । ‘प्रधानमन्त्री बन्न लाग्नुभएका वरिष्ठ नेता शाह र अध्यक्ष लामिछानेले मन्त्रीको नाम तयार भएको एकदुई घण्टाअघि शपथका लागि बोलाउनुहुनेछ, त्यसपछिमात्र जानकारी हुनेछ’ –पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
एक नेताका अनुसार बालेन्द्रको तर्फबाट सहपाठीसमेत रहनुभएका स्ट्रक्चरल इन्जिनियर सुनील लम्सालले शक्तिशाली मन्त्रालय पाउने निश्चितजस्तै छ । बालेन काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार भएदेखि नै निकट रहेर लगातार उहाँलाई सहयोग गर्दै आइरहनुभएका लम्साललाई गृह वा भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी रहेको बताइएको छ ।
रास्वपाले सहरी र भौतिक पूर्वाधार मन्त्रालयलाई एउटै बनाउने तयारी गरेको छ ।बालेनको समूहबाट राजुनाथ पाण्डे, सस्मित पोखरेलको नामसमेत मन्त्रीका लागि चर्चामा छ । पोखरेललाई शिक्षा मन्त्रालयल दिने लगभग पक्कापक्की छ । रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको नाम परिवर्तन गरेर शिक्षा, युवा तथा खेलकुद मन्त्रालय बनाउने तयारी छ ।
रास्वपाबाट अर्थमन्त्रीमा स्वार्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, ऊर्जा तथा जलस्रोतमा अमरेशकुमार सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमा विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको सम्भावनाबारे छलफल भइरहेको छ । कानुनमन्त्रीमा सोविता गौतम, सञ्चारमा मनीष झा, भौतिक पूर्वाधारमा सुधन गुरुङ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा इन्दिरा रानाको नाम चर्चामा छ । सबैको नाम चर्चामा आए पनि १३ गतेमात्र सार्वजनिक हुने एक नेताको भनाइ छ ।
स्रोतका अनुसार स्वास्थ्यमन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा रहेको छ । झण्डै दुई तिहाइको हाराहारीमा सिट संख्या लिएर सरकार बनाउन लागेको रास्वपा सरकारलाई उच्च प्राथमिकताका साथ हेरिएको छ । बालेन मन्त्री नभएका सांसदलाई आफ्नो निकटका रूपमा जिम्मेवारी दिने तयारीमा हुनुहुन्छ ।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा एक्लैले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५७ गरी १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको थियो । लगत्तै रास्वपाले सरकार गठनको तयारी थालेको थियो ।
लामिछाने र साहबीच मन्त्री बाँडफाँटमा आन्तरिक तयारी जारी राखेका छन् । पार्टी अध्यक्ष लामिछानेले अर्थमन्त्री आफ्नो भागमा लिएमा गृहमन्त्री बालेन्द्र शाहले लिनुहनेछ । शाहले पटकपटक लम्साललाई गृहमन्त्री बनाउन दबाब दिइरहनुभएको छ । तर, लामिछानेसँग कुरा मिल्न सकेको छैन । सम्भवतः गृहमन्त्रीको दौडमा रहेका डीपी अर्याललाई पार्टीको माथिल्लो तहको जिम्मा दिएर गृहमा लम्साललाई ल्याउने तयारी छ ।

सांसदको योग्यता र दक्षताका आधारमा मन्त्री छनोट गर्ने विषयमा शीर्ष नेताबीच छलफल भइरहेको पार्टीका एक नेताले बताए । ‘जुन विषयमा दक्षता हासिल गरेका छन् । उसैलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ । अझै पनि टुंगो लागेको छैन, छलफल जारी छ’
–सांसद पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो । रास्वपाले बढीमा १८ मन्त्रालय बनाउने तयारी गरेको छ । १५ देखि १८ मन्त्रालय हुनेछन् । सबैमा एकैसाथ मन्त्रीको शपथ गर्ने तयारी छ । रास्वपा एक्लैले बहुमत प्राप्त गरेकाले संविधानको धारा ७६ ९१० बमोजिम प्रधानमन्त्री नियुक्त र सरकार गठन हुनेछ ।

मन्त्रीको चर्चामा रहेका नामहरू
स्वर्णिम वाग्ले  : अर्थ
शिशिर खनाल: परराष्ट्र
सुनील लम्साल: गृह वा भौतिक
सस्मित पोखरेल: शिक्षा
विराजभक्त श्रेष्ठ: संस्कृति पर्यटन तथा नागरिक उड्डययन
सोविता गौतम: कानुन न्याय तथा संसदीय मामिला
मनीष झा: सञ्चार तथा सूचना प्रविधि
सुधन गुरुङ: भौतिक पूर्वाधार तथा यातायात
इन्दिरा राना: महिला बालबालिका तथा ज्येष्ठ नागरिक
अमरेशकुमार सिंह: ऊर्जा तथा जलस्रोत
बब्लु गुप्ता: युवा तथा खेलकुद
तोसिमा कार्की वा लेखजंग थापा: स्वास्थ्य

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*