रास्वपामा फाटो ल्याउन विभिन्न समूह सक्रिय छन् : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको बताएका छन्। निर्वाचित उम्मेदवारहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सभापति लामिछानेले भने, ‘हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ।’ उनले अन्य दलहरूबाट रास्वपामा आएका निर्वाचितहरूलाई पनि पुराना दलबाट टाढा बस्नुपर्ने बताए। उनले जथाभावी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको बताए। उनले भने, ‘प्रत्येक मतको इज्जत हुनुपर्छ।’ उनले निर्वाचितहरूलाई दिने अभिव्यक्तिबारे सचेत हुन र जिम्मेवार बन्न सुझाव दिए।
उनले जनताले मत दिएपछि सबैको भूमिका फेरिएको बताउँदै मत दिएका जनतालाई प्रभावित हुनेगरी काम गर्नुपर्ने बताए। उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुपर्ने पनि बताए।
उनले कुन धाराले कहाँ के काम अड्किएको छ भनेर निर्वाचितहरूले थाहा पाउनुपर्ने बताउँदै भने, ‘कहाँ कसलाई भनेर हुन्छ भनेर दौडधुप नगर्नुहोला।’ उनले कुनै बहाना गर्न नपाउनेगरी जनताले आफूहरूलाई जिताएर पठाएको भन्दै आफूहरू सचेत हुनुपर्ने बताए।



















