नवसांसदहरूलाई रास्वपाको अभिमुखीकरण आजबाट, यी हुन् प्रशिक्षक
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नवसांसदहरूलाई मंगलबारबाट अभिमुखीकरण गर्दैछ। दुई दिनसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिनेछन्।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबार बिहान ९ बजेबाट सुरू हुने अभिमुखीकरणको आरम्भ उपसभापतिद्वय अर्याल र वाग्लेले गर्नेछन्।
उनीहरूले विषय प्रवेशका अतिरिक्त अभिमुखीकरणको तात्पर्यबारे नवसांसदहरूलाई जानकारी गराउनेछन्। सत्रमा संसदका पूर्व सचिव सुरेश अधिकारीले मौजुदा संसदको संरचना कार्यप्रणालीबारे नव सांसदहरूलाई जानकारी गराउने कार्यसूची रहेको छ। उनले आफ्नो अनुभवको आधारमा प्रस्तुति दिनेछन्।
‘मंगलबारको सत्रमा पार्टी उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षित तुल्याउनेछन्। वाग्ले वाचापत्र लेखन समितिका संयोजक पनि थिए। उनले वाचापत्रप्रति सांसदहरू कसरी जिम्मेवार(इमान्दार रहने, त्यसप्रति आफ्नो भूमिका के हुने भन्ने विषयमा जानकारी गराउने महामन्त्री बुर्लाकोटीले बताए।
यस्तै, आजको सत्रमा कानुन सचिवसमेतको जिम्मेवारी सम्मालिसकेका तोयानाथ अधिकारी कानुन निर्माण संघीय संसदको भूमिकाबारे सुसूचित गर्नेछन्। उनले पनि आफ्नो अनुभवका आधारमा सांसदहरूलाई नोट सेयर गर्ने बुर्लाकोटीले बताए।
अभिमुखीकरणमा रास्वपाले अध्येता तथा विश्लेषक दोभान राईलाई पनि आमन्त्रित गरेको छ। राईले संसद र नागरिकको बीचको सम्बन्धबारे बताउनेछिन्। डिजिटल युगमा नागरिकसँग संवाद कसरी कायम गर्ने, प्रभावकारी सञ्चारसीपको प्रयोग कसरी गर्ने भन्नेबारे प्रशिक्षित तुल्याउने उनको कार्यसूची छ।
आजैको सत्रमा चितवन(३ बाट निर्वाचित सोविता गौतमलगायत केही सांसदहरूले आफ्नो अनुभव साझा गर्नेछन्। गौतम यसअघिको संसदमा पनि सांसद थिइन्।



















