ओलीले अध्यक्ष पदबाट राजीनामा नदिने

वेलकम खबर
फाल्गुन २९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष, पदाधिकारीसहित वरिष्ठ नेताहरूको लज्जास्पद पराजय भए पनि पार्टी नेतृत्व र संगठन संरचना फेरबदल नहुने भएको छ । अध्यक्षसहित सिंगो पार्टी प्रत्यक्षतर्फ ‘सिंगल डिजिटको जित’मा सीमित भएपछि पार्टीभित्रै अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको राजीनामा माग भइरहेको छ । हारपछि नीति र नेतृत्व परिवर्तन हुनुपर्ने आवाजसमेत पार्टीभित्र उठेको छ ।

एमाले महाधिवेशनमा महासचिवमा पराजित नेता सुरेन्द्र पाण्डे, एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलगायत नेताले नेतृत्व फेरबदल विषयमा मुख खोलेका छन् । पार्टीदेखि जनवर्गीय संगठनमा समेत पुनर्संरचना र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला अध्यक्ष ओलीले भने ‘आफू कुनै पनि हालतमा राजीनामा नदिने’ अडानमा छन् । केन्द्रीय कमिटी बैठक ‘फेस गर्ने’ भन्दै ओली बैठक डाक्ने गृहकार्यमा छन् ।

बैठकमा हारको समीक्षा, नेतृत्व परिवर्तन प्रस्ताव पेस र यसलाई निर्णयार्थ पेस गर्ने ओलीको रणनीति छ । ‘बैठक बस्छ, नेतृत्व फेर्न प्रस्ताव आउन सक्छ, अध्यक्षज्यूकै पहलमा त्यस्तो प्रस्ताव निर्णयार्थ पेस हुन पनि सक्छ, त्यसबेला बहुमतले जे भन्छ अध्यक्षले त्यही गर्नुहुन्छ,’ एमालेका एक जना पदाधिकारीले बिहीबार राजधानीसँग भने ।

ती पदाधिकारीका अनुसार ३ सय १ सदस्यीय एमालेको केन्द्रीय कमिटीमा अहिले पनि ओलीको पक्षमा २४० भन्दा बढी सदस्य छन् । ‘सिंगो केन्द्रीय समिति देशको विषम परिस्थितिमा अध्यक्षले राजीनामा दिनु हुँदैन भन्ने निष्कर्षमा हुनुहुन्छ, केही साथीलाई रहर लाग्यो भने बैठकमा छलफल गरेरै टुंगो लगाउने तयारीमा छौं,’ ती पदाधिकारी भन्छन् ।

ओलीसँग असन्तुष्ट समूह भने एमालेको वर्तमान नीति र नेतृत्व जनताले मतमार्फत अस्वीकार गरिसकेकाले पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने अडानमा छ । एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचनबाट ‘नीति र नेतृत्वलाई जनताले मतमार्फत अस्वीकार गरे’ भन्दै पार्टी नेतृत्वलाई राजीनामाका लागि दबाब दिएका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वांगीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्छ,’ उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै, उनले २३ र २४ भदौपछि पार्टीले लिएका नीति ठीक नभएको र त्यसलाई सच्याउनुपर्ने दबाब बैठक, भेटघाट, महाधिवेशनमार्फत पटकपटक दिएको तर नेतृत्वले अस्वीकार गरेको उनले उल्लेख गरेका छन् । एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीतिमात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेता सबैले भागीदार बोक्नुपर्ने उनले जनाए । तर, ओलीले ‘हामी जनताबीचमै रहने छौं, जनताकै लागि काम गरिरहनेछौं र विश्वासको यो सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने छौं,’ भनेका छन् ।

एमाले २०७९ सालको निर्वाचनबाट लोकप्रिय मतसहित दोस्रो भएको थियो । तर, २०८२ को निर्वाचनबाट एमालेको लोकप्रियता पनि घटेको छ र नेताको पराजय पनि लज्जास्पद भएको छ । २०८२ सालको निर्वाचनबाट एमाले प्रत्यक्षमा ९ सिटमा खुम्चिएको छ । समानुपातिकतर्फबाट १६ सिटसहित एमाले २५ सांसदसहित तेस्रो दलमा पुगेको छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट एमालेले ल्याएको थियो । २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ २८ भन्दा बढी मत ल्याएको एमालेले २०८२ सालको निर्वाचनमा १४ लाख ३४ हजार मत ल्याएको छ ।

२८ लाखबाट घटेर १४ लाखमा पुगेपछि जनताबीच एमालेको लोकप्रियता पनि घटेको मत परिणामले देखाउँछ । विघटित संसद्को दोस्रो ठुलो दल रहेको एमाले यही २१ फागुनको निर्वाचनपछि तेस्रो ठुलो दलको हैसियतमा पुगेको छ । प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत गुमाएको एमालेको यो ‘पोजिसन’ अध्यक्ष ओलीकै कारण भएको टिप्पणी नेताले गरिरहेका छन् ।

ओलीले भने– अपेक्षित मत नै आएन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणाम सार्वजनिक दुई दिनपछि ‘हार स्वीकार’ गरेका छन् । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओलीसहित एमाले नेताको लज्जास्पद हार व्यहोर्नुपरेको छ । झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका हुन् ।

सो क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भएको दुई दिनपछि ओलीले हार स्वीकार गर्दै निर्वाचनमा आफू र पार्टीले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको जनाएका छन् । ओलीले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने भएकाले प्राप्त जनमतलाई पूर्णसम्मानसाथ शिरोधार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘यसपटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनमतलाई म पूर्ण सम्मानसाथ स्वीकार गर्दछु ।’

निर्वाचनमा एमालेलाई मतदान गर्ने मतदाता, नेता–कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक एवं समर्थकलाई उनले ‘धन्यवाद’ व्यक्त गरेका छन् । ‘तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो तागत हो,’ ओलीले भनेका छन्, ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवा भाव कत्ति पनि कमजोर भएको छैन ।’-rajdhanidaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*