ताप्लेजुङमा खस्यो ५१ प्रतिशत मत

वेलकम खबर
फाल्गुन २१, २०८२

ताप्लेजुङ : ताप्लेजुङमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ५१.४५ प्रतिशत मत खसेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार जिल्लामा ४६ हजार ४७४ मत खसेको छ । खसेको मतमध्ये महिला मतदाता २१ हजार ७५ र पुरुष मतदाता २५ हजार ३९९ रहेका छन् ।

ताप्लेजुङ जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ताप्लेजुङमा कुल ९० हजार ३ सय २७ मतदाता रहेका छन् । जिल्लाभर ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र तोकिएको थियो । जिल्लाको सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र याङ्मामा ६२ जना मतदाता रहेका छन् । यहाँ १२ मत खसेको छ ।

यसैबीच जिल्लाका दुर्गम क्षेत्रका चार वटा मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ । हेलिकप्टर सदरमुकाम फुङ्लिङसम्म आइपुगे पनि मौसम प्रतिकूल भएका कारण आजै ती मतदान केन्द्रतर्फ जान नसकेको बताइएको छ । मौसममा सुधार आएपछि भोलि बिहान ती क्षेत्रतर्फ हेलिकप्टर पठाई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिएका छन् ।
ताप्लेजुङ जिल्लामा ८ वटा गाउँपालिका र १ नगरपालिका गरी कुल ९ स्थानीय तह रहेका छन् । ती सबै स्थानीय तहका मतदान केन्द्रहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ ।

मतदान सम्पन्न भएसँगै अब सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षित रूपमा तोकिएको स्थानमा ल्याइने र त्यसपछि सर्वदलीय सहमतिमा मतगणना प्रक्रिया सुरु गरिने तयारी गरिएको प्रशासनले जनाएको छ । जिल्लावासी मतदाताहरूले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन उत्साहपूर्वक मतदानमा सहभागिता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*