चुनाव बिथोल्ने गतिविधि भए गोली प्रहार गर्ने अधिकार छ : आईजीपी कार्की

वेलकम खबर
फाल्गुन २१, २०८२

काठमाडौं : सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको हो।  यसैबीच, केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।  सुरक्षा अधिकारीहरूले निर्वाचन बिथोल्ने गतिविधि भएमा गोलीसमेत प्रहार हुने चेतावनी बताएका छन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केन्द्रीय सुरक्षा समिति बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको थियो। यसक्रममा ७७ वटै जिल्लमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। निर्वाचन गराउनका लागि  नेपाली सेनाबाट ७९ हजार ७ सय २७ सुरक्षाकर्मी, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरीबाट ३४ हजार ५ सय ७६, गुप्तचरबाट १ हजार ९ सय २१ जना परिचालन गरिएको छ । त्यस्तै, निर्वाचन प्रहरी पनि १ लाख ४९ हजार ९० जना खटिएका छन्। झापा, सर्लाही, दोलखा, बाजुरा, रौतहट, महोत्तरीलगायत संवेदनशील जिल्लामा थप सुरक्षाकर्मी खटाइएको छ।  दोलखामा यसपटक माग भएभन्दा पनि बढी सुरक्षाकर्मी परिचालन भएका छन्।  झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको छ। झापा र सर्लाहीमा सादा पोसाकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ।

७७ वटै जिल्लाको शान्ति सुरक्षाको अवलोकन गर्नका लागि बिहीबार (मतदानको दिन) बिहानैदेखि हवाई गस्ती गरिनेछ।  हवाई गस्ती, हेलिकोप्टर स्ट्यान्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी तयारी पूरा भएको छ। बैठकले संवेदनशील क्षेत्रमा हेलिकोप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुन सक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानुनविपरीतका गतिविधि भए÷गरेको पाइएका कानुनबमोजिम तुरुन्त कारबाही गर्नेलगायत निर्णय गरेको छ। यस्तै, बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्तदुरुस्त बनाइएकाले सबैलाई निर्वाचनमा ढुक्क भएर मतदानमासहभागी हुन आह्वान गरेको छ।

गृहमन्त्री अर्यालद्वारा प्रहरी मुख्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणालीको निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम)को बुधबार निरीक्षण गरेका छन् । गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार  श्रेष्ठ, मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनसम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो।

सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ। यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ।

मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरको विकास गरिएको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षता तथा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुखहरू, गृह मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रणालीबारे जानकारी दिए । उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगे÷नपुगे, मतदान प्रक्रिया सुरु भएनभएको तथा मतदान रोकिएकोलगायत मत गणनाको अवस्थादेखि विजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ। अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबै, मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

देशभरि बढ्दो अराजक गतिविधि
निर्वाचन हुने अन्तिम समयमा देशैभरि केही हिंसात्मक गतिविधि देखिएका छन्। निर्वाचन विरोधी समूहले निर्वाचन बिथोल्नका लागि धार्मिक साम्प्रदायिकता भड्काउने गतिविधि पनि बढाएका छन्। पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चुनावका बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरूलाई पक्राउ परेका छन्।

धार्मिक सद्भाव भड्काउने गतिविधि गरेका थिए। प्रहरीका अनुसार उनीहरूको साथबाट ९ थान सुतली बम, केही तारलगायत सामग्री पनि बरामद भएका छन्।
यस्तै, काठमाडौंको बूढानीलकण्ठमा शंकास्पद बस्तु फेला परेको छ। कोही उम्मेदवार नगदसहित पक्राउ परेका छन् भने केही मतदान कर्मचारीको जिम्मेवारी खोसिएको छ। विभिन्न ठाउँमा बम राखिएको हल्ला फैलाइएको थियो। यस्तै केही ठाउँमा झडप पनि भएको छ।

निर्वाचन बिथोल्नेलाई गोली
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले निर्वाचन गतिविधि गर्ने व्यक्तिलाई कानुनी कारबाही गरिने बताएका छन्। मतपत्र च्यात्ने, खोस्ने, मतपेटीका खोस्नेलगायतका गतिविधि गर्ने व्यक्तिविरुद्ध कडा बल प्रयोग हुने उनले जानकारी गराएका छन्। उनका अनुसार निर्वाचन आचारसंहिताविपरीत काम गर्नेहरू कानुनी कारबाहीमा पर्नेछन्।

‘निर्वाचन हातमा लिने, धम्क्याउने, आफ्नो पक्षमा पार्न उत्तेजित बनाउने गतिविधिहरू गरेको अवस्थामा कानुनले दिएको अधिकार प्रयोग गर्दै बल प्रयोग हुन्छ,’ आईजीपी कार्कीले भने,‘ नेपाल प्रहरी निर्वाचन स्थलको क्लोज क्षेत्रमा  छ। शंकास्पद गतिविधि भएमा, बुथ कब्जा भयो भन्ने लागेमा उक्त बुथमा निर्वाचन रोकिनेछ। केन्द्रीय सुरक्षा योजनाअन्तर्गत नै ४ वटै सुरक्षाकर्मी खटिएका छन्।’ आवश्यक पर्दा एक अर्को संगठनलाई सघाउने गरी सबै सुरक्षाकर्मी स्टान्डवाई अवस्थामा रहेको आईजीपी कार्कीले बताए।

प्रहरी प्रधान कार्यालयबाट एकै पटक ४१ वटा मतदानस्थल हेर्न सकिने
प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) बाट एकैपटक ४१ वटा मतदान केन्द्र निरीक्षण गर्न सकिनेछ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त प्रणालीको निरिक्षण गरेका थिए। उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ। जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमन गरिन्छ।

सो अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको बताउँदै यो प्रणालीले निर्वाचनलाई महŒवपूर्ण सहयोग पुग्ने जानकारी दिए। प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्ने उनको जोड थियो।  उक्त सूचना प्रणालीमार्फत निर्वाचनसम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रूपमा मनिटरिङ गर्न सकिन्छ।

मतदान केन्द्र प्रदेश कमान्ड पोस्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको मनिटरिङ गर्न सूचणा प्रणालीको विकास गरिएको हो। मोबाइल टिम, सीसी क्यामेराबाट लाइभ मनिटरिङ गर्न सकिन्छ। मतगणना केन्द्रको विवरण कल सेन्टर र अनलाइनको माध्यमबाट सूचना संकलन गरिन्छ। सीमा सुरक्षाको अवस्थाबारे पनि जानकारी लिन उपयोगी हुनेछ। साथै गृहमन्त्री अर्यालले सात वटा प्रदेशका लागि कार्यरत सुरक्षाकर्मीको डेस्कको पनि जानकारी लिएका थिए।

सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ। यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ। मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेयरको विकास गरिएको हो।-annapurnapost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*