एमालेको घोषणापत्र : २५ आधार स्तम्भमा के छ ?

वेलकम खबर
फाल्गुन ७, २०८२

काठमाडौँ । नेकपा (एमाले) को फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका चुनावी घोषणापत्र बिहीबार सार्वजनिक भएको छ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित सार्वजनिक भएको घोषणापत्रमा ‘परिकल्पना र प्रतिबद्धता, विकासका लागि आधारभूत घोषणा’, ‘तुलनामा २०४७ अघि र पछिको विकास’, ‘तथ्यले भन्छ, एमाले विकासको संवाह हो, एमालेले गर्छ’, ‘हामी गर्छौं’, ‘एमालेले बनाउँछ !’ लगायतका मुख्य विषय रहेका छन् ।

एमालेको घोषणापत्रमा समृद्धिका २५ आधार स्तम्भ प्रस्तुत छन् । समृद्धिका २५ आधार स्तम्भमा नेपालको अर्थतन्त्र, मर्यादित श्रम, नागरिकमैत्री आवास, समुन्नत सहर, उद्योग क्षेत्रको विस्तार, आधुनिक खेती, गुणस्तरीय शिक्षा, डिजिटल प्रर्वाधार विकास लगायतका विषयवस्तु समावेश छन् ।

प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर बनाउने लक्ष्य

‘हाम्रो अर्थः आधा दशकमा सय खर्ब र एक दशकमा दुई सय खर्ब’ विषय अन्तर्गत प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर तीन हजार पु¥याउने लक्ष्य राखिएको छ । यसका लागि सम्पुर्ण राष्ट्रिय स्रोत, साधन र सामथ्र्य परिचालन गर्ने तथा समतामूलक द्रूत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गर्ने बताइएको छ ।

मर्यादित श्रम

‘मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम’ अन्तर्गत रोजगारका थप अवसरलाई थप दोब्बर बनाइ वैदेशिक रोजगारीमा जाने बाध्यात्मक स्थिति हटाउने बताइएको छ । रोजगाी सिर्जनालाई विकासको केन्द्रीय एजेण्डा बनाउँदै युवालाई स्वदेशमै काम र रोजगारीका अवसर उपलब्ध गराउने उल्लेख छ ।

नागरिकमैत्री आवास

भूमिहीन, सुकुम्बासी, कमजोर तथा न्युन आय भएका नागरिकका लागि आधारभूत सेवासहित सुरक्षित, सहुलियत र सम्मानजनक आवास उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास’ विषय अन्तर्गत विपद् पीडित तथा जोखिममा रहेका नागरिकहरु र हेरचाहविहिन ज्येष्ठ नागरिकका लागि आधारभूत सेवासहितको ‘नागरिक आवास’ सेवा उपलब्ध गराइने बताइएको छ ।

मेगा सिटीको अवधारणा

सहरलाई पूँजी, प्रविधि, सेवा र बजार विस्तारको आधार बनाउँदै गाउँलाई उत्पादन र श्रमको केन्द्रको रुपमा विकास गरिने बताइएको छ ।

‘गतिशील गाउँ, आधुनिक सहर–आर्थिक विकासको नयाँ लहर’ विषय अन्तर्गत गाउँ र सहरको परिपूरक विकासमार्फत समृद्धिको राष्ट्रिय अभियान सुरु गर्ने, सबै उप तथा महानगरहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तिय केन्द्र, औद्योगिक तथा व्यापारिक केन्द्र, नवप्रवर्तन तथा आविष्कार केन्द्र, डिजिटल पूर्वाधार केन्द्र, शिक्षा र स्वास्थ्य सेवाको उत्कृष्टताको केन्द्र, रोजगारीका अवसरको केन्द्र र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय यातायात हबको रुपमा विकास गरी ‘मेगा सिटी’ मा रुपान्तरण गर्ने उल्लेख छ ।

समुन्नत सहर

आधारभूत पूर्वाधार निर्माणमा अन्तरनिकाय समन्वय, फोहोर व्यवस्थापन, खुला तथा हरित क्षेत्र निर्माण गर्ने बताइएको छ । नागरिक चेतना वृद्धि गरी स्वच्छ, सुन्दर र समुन्त सहर निर्माण गर्ने, सार्वजनिक उपयोगिताका आधारभूत पूर्वाधारहरु निर्माण गर्ने, भत्काउने, पुनः निर्माण गर्ने, पुनः भत्काउने दुश्चक्रलाई अन्त्य गर्ने उल्लेख छ ।

२४ सैं घण्टा सुरक्षित पिउने पानी

‘स्वच्छ पानी, सफा आँगन–स्वस्थ्य नेपाली, हाम्रो अभियान’ अन्तर्गत सबै नेपालीलाई २४ सैं घण्टा र सातै दिन सुरक्षित पिउने पानी उपलब्ध गराइने बताइएको छ । आगामी दुई वर्षमा सम्पुर्ण घरमा आधारभूत खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउने विषय उल्लेख छ ।

इन्डष्ट्रियल इकोसिस्टम

उत्पादनमूलक उद्योग, खानी, विदुत, खानेपानी तथा निर्माण क्षेत्रको विस्तारगरी कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने बताइएको छ । प्रतिस्पर्धी औद्योगिक क्षमता वृद्धिका लागि उत्साहवद्र्धक इन्डष्ट्रियल इकोसिस्टम विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

दोब्बर निर्यात  

नेपालमा उत्पादित वस्तुको प्रवद्र्धन, सम्भावना भएका नयाँ वस्तुको पहिचान र उत्पादन, व्यापार तथा पारवहन पूर्वाधार विकास र आर्थिक कुटनीतिका माध्यमबाट तीन वर्षमा निर्यात दोब्बर गर्ने बताइएको छ । पाँच वर्षमा निर्यात तेब्बर गरी आयातको कमसेकम एक चौथाइ अंश धान्ने बनाउने उल्लेख छ ।

आधुनिक उद्यम व्यवसाय

कृषि उत्पादनको परम्परागत संरचनालाई ‘आधुनिक उद्यम व्यवसाय’ मा रुपान्तरण गरिने उल्लेख छ । आधुनिक मेसिन, उपकरण र प्रविधिको प्रयोग गरेर उद्यमशील युवाहरुले सञ्चालन गर्ने नाफामूलक उद्योगको रुपमा कृषि व्यवसायको विकास गर्ने जनाइएको छ ।

हरियो वन, समुदायको धन

प्रकृति, वन र वातावरणलाई संरक्षण, व्यवस्थापन र सन्तुलनको अन्तर–पुस्ता जिम्मेवारी बोधका साथ राष्ट्रिय समृद्धिमा सदुपयोग  गर्ने बताइएको छ ।

ग्रामीण अर्थतन्त्र सुदृढ गरिने

एमलेको घोषणापत्रमा कृषि, उत्पादन, मूल्य, शृङ्खला, प्रशोधन र बजार व्यवस्थापन केन्द्रमा राखी सहकारीमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ गरिने विषय बताइएको छ ।

पर्यटक आगमन दोब्बर गर्ने 

पर्यटनको पूर्वाधार विकास, बजार प्रवद्र्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने उल्लेख छ । नेपालसम्मको अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउन अन्तर्राष्ट्रिय उडान सेवा प्रदायकहरुसँग सहकार्य गर्ने बताइएको छ ।

बाह्रै महिना सहज सिँचाइ

प्देश र स्थानीय तह समेतको सहकार्यमा आगामी पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार गरी ७५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । तराई, उपत्यका र हिाडमा सिँचाइका पूर्वाधार निर्माण गर्ने, कृत्रिम बौद्धिकताको उपयोग गरी स्मार्ट सिँचाई प्रणाली विकास गर्ने जनाइएको छ ।

निःशुल्क विद्यालय शिक्षा

विद्यँलय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्व–प्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उल्लेख छ । समसामयिक, व्यवहारिक, नैतिक, राष्ट्रभक्तिमूलक र डिजिटलमैत्री पाठ्यक्रम तथा शैक्षिक सामग्री विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

एकीकृत स्वास्थ्य बीमा कार्यक्रम 

स्वास्थ्य प्रणालीमा रहेको दोहोरो बोझ, सेवा उत्पादन–खरिदको अन्यौल र बीमा निःशुल्क सेवाबिचको दोहोरोपन हटाउन स्वासथ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम क्रमशः एकीकृत गर्ने उल्लेख छ ।

नेपालको आफ्नै भू–उपग्रह 

सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सुशासनमा आमूल परिवर्तन ल्याउने बताइएको छ । नेपालको आफ्नै भू–उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने उल्लेख छ ।

रेल मार्ग निर्माण

नेपाल–भारत अन्तरदेशीय रेल मार्ग निर्माणको कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सबै गाउँँपालिकालाई सबै मौसममा चल्ने कम्तिमा एक सडकले जोड्ने लगायत देशका विभिन्न सडकको स्तरोन्नति गर्ने बताइएको छ ।

विद्युत उत्पादन र उपभोग दोब्बर

विद्युत उत्पादन र प्रतिव्यक्ति विद्युत उपभोग दोब्बर बनाइने उल्लेख छ । जलविद्युत, सौर्य ऊर्जा र ग्रीन हाइड्रोजनसमेत विकास गरी ऊर्जा आप्रर्तिको विश्वसनीय प्रणाली स्थापित गर्ने बताइएको छ ।

सार्वजनिक भवन एक वर्षभित्र पुनःनिर्माण

जेनजी आन्दोलन पश्चात् सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रहरी चौकी, पालिका कार्यालय लगायतका सार्वजनिक भवनको एक वर्षभित्र पुनः निर्माण गर्ने बताइएको छ ।

सुदृढ वित्तिय प्रणाली

वित्तिय क्षेत्र विकास रणनीति परिमार्जनसहित कार्यान्वयन गरी नागरिकको वित्तिय पहुँच वृद्धि, बचतको सुरक्षा र उच्च आर्थिक वृद्धिका लागि आवश्यक लगानी परिचालन गर्ने उल्लेख छ ।

युवा–केन्द्रीत उद्यम

उद्यमशीलता प्रर्द्धनका लागि तालिम, सीपमूलक शिक्षा, इन्टर्नसिप, स्टार्टअप सहायता र बिउँपूँजीको व्यवस्था गर्दै स्थानीय तहसँगको सहकार्यमा प्रत्येक वडामा युवा–केन्द्रीत उद्यम विकास गर्ने उल्लेख छ ।

 कीर्तिपुर रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने

कीर्तिपुरस्थित क्रिकेट रंगशालाको दोस्रो चरणको निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय प्रतियोगित सञ्चालन गर्ने, राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित र निर्धारित समयमा सम्पन्न गर्ने उल्लेख छ ।

विचाराधीन विधेयक तीन महिनाभित्र पारित गर्ने

अघिल्लो संसदकालमा विचाराधीन रहेका विधेयकहरु नयाँ प्रतिनिधिसभाको बैठक बसेको तीन महिनाभित्र पारित गर्ने बताइएको छ ।

छिमेकसँग सम्मानजनक सम्बन्ध

श्रम कुटनीतिलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्नका लागि श्रम गन्तव्यका सबै देशहरुमा सामाजिक सुरक्षाको प्रावधानसहित द्विपक्षीय श्रम सम्झौता गरिने बताइएको छ । राज्यले दिने सेवा विदेशमा रहेका नेपालीसम्म विस्तार गर्ने योजना रहेको विषय उल्लेख छ ।

एनआरएन सदूभावना दूत

विदेशमा रहेका गैरआवासीय नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा नेपालको सदुभाव दूतको रुपमा लिइने, नेपाली डायस्पोराको नीति निर्माण, व्यवसाय प्रवद्र्धन, लगानी परिचालन रर सामाजिक विकासमा योगदान बढाउन राष्ट्रका विभिन्न सार्वजनिक निकायहरुमा प्रतिनिधित्वको विकास गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*