यस्तो छ एमालेको आन्तरिक विश्लेषणः प्रत्यक्ष सिट बढ्छ, समानुपातिक घट्छ

१६५ मध्ये १०० वटा निर्वाचन क्षेत्रमा केन्द्रित भएर चुनाव लड्दै छ एमाले
वेलकम खबर
फाल्गुन ७, २०८२

काठमाडौं / नेकपा एमालेको आन्तरिक विश्लेषणले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सो पार्टीको सिट बढ्ने र समानुपातिकतर्फ केही मत घट्ने देखाएको छ।

एमालेले २०७९ मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको थियो। यसपटक प्रत्यक्षमा सुधार हुने आफूहरुले गरेको सर्वेक्षणले देखाएको सो पार्टीका नेताहरुले बताएका छन्।

एमालेको निर्वाचन परिचालन कमिटी र आन्तरिक सर्वेक्षण टोलीले देशभरिका १६५ निर्वाचन क्षेत्रको अध्ययन गरेको थियो। सहरी क्षेत्र, सामाजिक सञ्जालले प्रभाव पार्ने ठाउँमा मत घट्ने आन्तरिक सर्वेले देखाएको छ। ग्रामीण क्षेत्रमा प्रभाव कायमै रहेको, कतिपय ठाउँमा माहोल बढिरहेको छ।

यसबाट एमालेका नेताहरूले रास्वपाका नेता रवि लामिछाने र बालेन्द्र शाहलाई लक्षित गरेर ‘सामाजिक सञ्जालको लोकप्रियता भोटमा परिणत हुँदैन’ भन्दै आए पनि त्यही कारण शहरी क्षेत्रमा मत घट्न सक्ने उनीहरूकै सर्वेले देखाइदिएको छ।

एमालेका केही नेताहरूका अनुसार चुनावमा एमालेको देशव्यापी अवस्था आकलन र विश्लेषण गर्ने कामको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेर विष्णु रिमालले गरिरहेका छन्।

‘१६५ निर्वाचन क्षेत्रमध्ये एमालेले अग्रता लिनसक्ने १०० क्षेत्र छानेर प्रचार, परिचालन लगायत सबै ध्यान केन्द्रित गरिएको छ,’ एमालेका एक नेता भन्छन्, ‘जित्ने सम्भावना कम भएका ६५ क्षेत्र मूलतः स्थानीय कमिटी र उम्मेदवारको जिम्मामा छाडिएको छ।’

कोसी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा विगतको तुलनामा एमालेले उल्लेख्य रुपमा मत बढाउने उसको आन्तरिक प्रक्षेपण छ।

तर, मधेश र लुम्बिनी प्रदेशमा भने २०७९ को निर्वाचनको तुलनामा यसपटक सिट संख्या घट्न सक्ने एमालेको प्रारम्भिक अनुमान छ। गण्डकीमा परिस्थिति फेरबदल हुनसक्ने सर्वेले देखाएको नेताहरू बताउँछन्।

निर्वाचन क्षेत्रहरूलाई ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरेर अध्ययन गरिएको यसमा सहभागी नेताहरूले जानकारी दिए। एमालेले सर्वेक्षणको निष्कर्षमा मुख्य प्रतिस्पर्धा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँग रहेको देखाए पनि रिपोर्टको समग्र विश्लेषणमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुख्य चुनौती मानेको देखिन्छ।

नेताहरूका अनुसार नयाँ दलको उदय, रास्वपाले पारेको प्रभाव र मतदाताको फेरिएको मनोविज्ञानले गर्दा लोकप्रिय मतमा संकुचन आउन सक्ने देखिन्छ। अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको थियो तर, यसपटक त्यो संख्या घट्न सक्ने आकलन गरेको छ।

‘यसपटक प्रत्यक्ष बढ्छ, समानुपातिक मत घट्छ,’ सर्वेक्षणमा सहभागी एमालेका एक नेताले भने। प्रदेशगत र निर्वाचन क्षेत्रगत रुपमा केन्द्रित भएर मतदाताको सर्वे गरेको एमालेका नेताहरूको भनाइ छ। सर्वेका क्रममा डाटा संकलन र विश्लेषणका लागि केही विज्ञहरूको सहयोग लिएको थियो।

प्रदेशगत आकलन
२०७९ सालको निर्वाचनमा कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये एमालेले १३ क्षेत्र जितेको थियो। जसमा ताप्लेजुङ, पाँचथर, इलाम १ र २, झापा २, ४ र ५, मोरङ २, सुनसरी २ र ३, धनकुटा, सोलुखुम्बु र उदयपुर २ थिए।

यसपटक पनि एमालेले यी १३ सिट सुरक्षित गर्ने आफ्नो सूचीमा राखेको छ। झापा, मोरङ र सुनसरी जिल्लाका क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले कडा चुनौती दिए पनि पछिल्लो एक सातामा माहोल एमालेको पक्षमा फर्किएको नेता गुरु बरालले दाबी गरे।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, उदयपुरको एउटा र खोटाङ एमालेले जित्ने सूचीमा राखेको छ। इलाममा एउटा क्षेत्र, झापाको २ वटा, सुनसरीको २ वटा क्षेत्र, मोरङको २ वटा क्षेत्र जित्ने एमालेको प्रारम्भिक विश्लेषण छ। ओखलढुङ्गा र सोलुखुम्बुमा प्रतिस्पर्धा कडा हुने आन्तरिक विश्लेषण छ।

‘कोसीमा एमालेको संगठन बलियो छ, पछिल्लो एक हप्तायता रास्वपाले पाउने मत विस्तारै ओरालो लाग्दै गएको छ,’ बरालले दाबी गरे, ‘हामी कोसीबाट ऐतिहासिक रुपमा विजय हुन लागिपरेका छौँ।’

गत निर्वाचनमा मधेसबाट प्रत्यक्षतर्फ सबैभन्दा बढी ९ क्षेत्र जितेको एमाले यसपटक भने रक्षात्मक हुने नेताहरू बताउँछन्। ८ जिल्ला र ३२ क्षेत्र रहेको मधेसमा एमालेले ५ क्षेत्रलाई जित्न सकिने सूचीमा राखेको छ।

‘यसपटक मधेसमा हाम्रो पार्टीको लय गडबड भएको पाइयो,’ एमालेका प्रचार कमिटीका एक नेताले भने। यसको मुख्य कारणका रूपमा कांग्रेस सभापति गगन थापा र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले मधेसमा देखाएको सक्रियतालाई कारण मानिएको छ।

कांग्रेसका सभापति गगन थापा सर्लाही–४ झर्नु र रास्वपाका वरिष्ठ नेता शाहले मधेसबाटै चुनावी अभियान सुरु गर्नुले एमालेलाई धक्क पुग्नसक्ने उनीहरुको भनाइ छ। कांग्रेसले मधेसलाई बढी प्राथमिकता दिएको छ। रास्वपाले पनि त्यहीँको भोट बैंकमा आँखा लगाएको छ। जसले गर्दा एमालेलाई असर पर्नेछ।

मधेसमा लय गडबड भएको निष्कर्ष निकालेको एमालेले बागमतीमा भने सुधार हुने आकलन आफ्नो रिपोर्टमा देखाएको छ। २०७९ को निर्वाचनमा बागमतीमा एमालेले जम्मा ४ सिट जितेको थियो। १३ जिल्ला र ३३ क्षेत्र रहेको बागमतीमा यसपाली व्यापक सुधार हुने एमाले सर्वेले देखाएको नेताहरू बताउँछन्।

काठमाडौँ उपत्यकाका १५ सिटमध्ये ५ वटा सिट जित्ने एमालेको आन्तरिक रिपोर्टमा छ। एमाले नेताहरूले उपत्यकामा जित्ने दाबी गरिएका क्षेत्रहरूबारे खुलाउन नचाहेपनि भक्तपुर २, ललितपुर २, काठमाडौँ २, ४, ५ लगायत रहेको बुझिन्छ।

अन्य जिल्लाहरू दोलखा, सिन्धुपाल्चोक १, काभ्रे १, सिन्धुली २, मकवानपुर २, धादिङको एउटा क्षेत्र र रसुवालाई एमालेले जित्ने सूचीमा राखेको छ। नुवाकोटका दुवै क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने नेताहरूले आकलन गरेका छन्।

गण्डकीमा पनि यसपटक एमालेको अवस्था सुधार हुनसक्ने नेताहरु बताउँछन्। ११ जिल्लामा १८ क्षेत्र रहेको गण्डकीमा एमालेले अघिल्लो पटक ५ क्षेत्र जितेको थियो। यसपटकको सर्वेक्षणअनुसार ६ क्षेत्र जित्न सक्ने देखिएको छ।

तर, यसअघि जितेका केही क्षेत्र गुमाउने आकलन छ। बागलुङको एउटा क्षेत्र, पर्वत, मुस्ताङ, स्याङ्जा र नवलपरासी पूर्वका दुवै क्षेत्र जित्ने सर्वेले देखाएको छ।

कास्कीका २ क्षेत्र र लमजुङमा कडा प्रतिस्पर्धा छ भने गोरखाका दुवै क्षेत्र, म्याग्दी र तनहुँमा एमाले उम्मेदवार ‘ख’ श्रेणीमा परेका छन्।

‘पोखरा लगायत सहरी मतदाता रहेको ठाउँमा हाम्रो मत केही घटे पनि अन्य क्षेत्रमा जित्छौँ,’ एमाले गण्डकीका एक नेताले भने।

२६ क्षेत्र रहेको लुम्बिनीमा अघिल्लो पटकको चुनावमा एमालेले ११ क्षेत्र जितेको थियो। तर, यसपटक ती क्षेत्र जोगाउन चुनौती थपिएको आन्तरिक सर्वेले देखाएको नेताहरू बताउँछन्। एमालेले अहिलेसम्म ८ क्षेत्र ढुक्कले जित्नेमा राखेको छ। रुपन्देही र दाङका केही क्षेत्र जित्ने सूचीमा छ। तर, बढी मेहनत गर्नुपर्नेमा भनिएको छ।

विगतमा कुनै सिट जित्न नसकेको एमालेले कर्णालीमा यसपटक ठूलो आशा राखेको छ। १० जिल्ला र १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा यसपटक ४ सिट जित्ने सूचीमा राखेको छ। यसबाट बढ्न सक्ने एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह बताउँछन्।

१६ क्षेत्र रहेको सुदूरपश्चिममा यसपटक ५ सिट नघट्ने बरु बढ्ने एमालेको भनाइ छ। यसअघिको चुनावमा सुदूरपश्चिममा एमालेले जम्मा २ वटा मात्र जितेको थियो। यसपटक हिमाली र पहाडी क्षेत्रमा राम्रो मत ल्याएर चुनाव जितिने उपमहासचिव लेखराज भट्टले बताए। नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*