ताप्लेजुङमा चौपक्षीय रोचक भिडन्त
ताप्लेजुङ। प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा विभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
निर्वाचनको मिति नजिकिए सँगै उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन व्यस्त रहेका छन् । यतिसम्म की किसानले बारी जोतिरहेको ठाउँमा गएर हलो जोत्नेदेखि पसलमा पुगेर आफ्नो पक्षमा मत आकर्षित गर्न कम्मर कसेर लागेका छन् ।
२०७९ सालको निर्वाचनलाई आधार मान्ने हो भने यहाँ पुरानै दलको वर्चस्व छ । तुलनात्मक रूपमा एमाले बलियो रहेको यहाँ एमाले उप–महासचिव योगेश भट्टराईले लगातार २ पटक निर्वाचनमा विजय हासिल गर्नुभएको थियो । तर यस पटक भट्टराई चुनावी मैदानमा हुनुहुन्न ।
अर्को रोचक कुरा त के छ भने १३ मध्ये ५ जना उम्मेदवार एकै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहेकाले मत बाझिने पनि निश्चित छ । तर यहाँ समानुपातिकमा भने एमाले पहिलो दल बनेको छ। २०७९ सालको निर्वाचनमा एमालेले प्रतिनिधिको समानुपातिकमा १९ हजार ६ सय ४ मत प्राप्त गरेर पहिलो दल बनेको थियो ।
यस्तै नेपाली कांग्रेसले १५ हजार ७ सय ३५ मत प्राप्त गर्दै दोस्रो, तत्कालीन माओवादी केन्द्रले ५ हजार १ सय ६२ मत प्राप्त गर्दै तेस्रो भएको थियो । १ हजार ५ सय ४५ मत रहेको एकीकृत समाजवादी अहिले माओवादीसँग समाहित हुँदा नेपाली कम्युनिस्ट पार्टीको ६ हजार ७ सय ७ मत हुन्छ । जुन मत कांग्रेस एमालेको तुलनामा तेस्रो नै रहन्छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीको ९ सय ७८, सिङ्घिया लोकतान्त्रिक राष्ट्रिय मञ्चको ९ सय ३२ तथा जनता समाजवादी पार्टीको ७ सय २२ मत रहँदा राप्रपाले ६ सय ३७ मत समानुपातिकमा पाएको थियो । समानुपातिकमा पुराना दलकै दबदबा रहँदा ताप्लेजुङमा कुन उम्मेदवारले पासा पल्टाउँछ यसै भन्न सकिने अवस्था छैन ।
समानुपातिकमा पहिलो र ६१ वडा मध्ये ३० वटा वडा एमाले एक्लैले जितेकाले यहाँ आफ्ना उम्मेदवार विजयी हुनेमा एमाले कार्यकर्ता ढुक्क देखिन्छन् । यता धेरै निर्वाचनमा पराजय भोग्दै आएको नेपाली कांग्रेस पनि यो पटक इतिहास रच्ने दाउमा छ भने, परिवर्तनको बिगुल फुकेर पुरानालाई पाखा लगाउन भन्दै उत्रेका नयाँ दलका उम्मेदवार पनि जित्ने दाबी गरिरहेका छन् ।
उम्मेदवारको सम्भावना र चुनौती
युवा सङ्घको अध्यक्ष भइसक्नुभएका थेबे एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित हुनुभएका एमाले अध्यक्ष ओलीका विश्वासिलो पात्र मानिन्छ । युवा र केन्द्र सम्मको राजनीति पहुँच रहेको आँकलन हुँदा यो निर्वाचनमा उहाँको प्रभाव बिगतका निर्वाचनमा भन्दा बलियो हुने एमाले कार्यकर्ताको बुझाइ छ । यति मात्र होइन उहाँ जिल्लाकै सबैभन्दा कन्छो उम्मेदवार पनि हो । किनकी पछिल्लो समय युवा परिर्वतनको आवाज उठ्ने गरेको छ ।
तर, एमाले भित्रकै असन्तुष्टि पक्षका कारण थेबेको जितमा बाधा नआउँला भन्न सकिन्नँ । यति सम्म एमाले भित्र परिवारवादको हाबी भएको एमालेकै असन्तुष्टि पक्षको गुनासो छ । थेवेका बुवा भूपेन्द्र थेबे २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुनभएको थियो भने आमा उर्मिला थेबे ७९ सालको निर्वाचन पछि समानुपातिक सांसद बन्नुभएको थियो । यसले पनि एमाले ताप्लेजुङमा थेबे परिवारको हाली मुहाली भएको गुनासो सुन्नमा पाइन्छ ।
तर, समयको माग अनुसार थेबेलाई युवा उम्मेदवारको रूपमा पार्टीले अघि सारेको अर्को पक्षको भनाइ छ । यो सँगै एमाले उपमहासचिव भट्टराई, नेता तिलकुमार मेन्याङ्वो पनि थेबेको पक्षमा उभिँदा जित निश्चित रहेको एमाले कार्यकर्ताको विश्वास छ ।
नेपाली कांग्रेसका जिल्ला सभाति समेत रहनुभएका तुम्याहाङ पहिलो पटक निर्वाचनमा होमिनुभएको हो । युवा र विद्यार्थीमा राम्रो सम्बन्ध बनाउनुभएका तुम्याहाङ यो पटक विजयी हुनेमा कार्यकर्ता बिस्वस्त छन् ।
कुनै प्रश्नले नघेरेको निष्कलङ्क व्यक्ति मैदानमा उतारेको कांग्रेसको दाबी छ । तर पार्टी भित्रकै असन्तुष्ट पक्षका कारण तुम्याहाङको जितमा बाधा पुग्न सक्छ । पार्टी भित्र देखिएको विशेष महाधिवेशन र नियमित महाधिवेशनको असर जिल्लामा पनि नदेखिएला भन्न सकिन्न ।
अझ २०७९ सालको स्थानीय निर्वाचनमा माओवादीसँगको गठबन्धन हुँदा पार्टीका नेता कार्यकर्तालाई पाखा लगाएर टिकट नदिएको आरोप कांग्रेसभित्र उठ्ने गरेको छ । यता पालिका अध्यक्षको दाबेदार रहनुभएका तर, टिकट विहिन बन्नुभएका पूर्व क्षेत्रीय सभापति रामबहादुर कंलिबाले पार्टीमा कुनै समस्या नरहेको र तुम्याहाङलाई जिताउनमा नै लाग्ने बताउनु भएसँगै कांग्रेस कार्यकर्तामा खुसी छाएको छ ।
जिल्ला उपसभापति समेत भइसक्नुभएका मणिप्रसाद लाबुङ लगायतले टिकट नपाएकै निउँमा पार्टी छोड्दा त्यसको असर पनि निर्वाचनमा देखिने अनुमान हुन थालेको छ । तर समाजसेवा र जिल्लामै क्रियाशिल रही काम गरेका कारण अन्य दलको मत पनि आफूहरूलाई आउने तुम्याहाङ पक्षको भनाइ छ । यता पहिचानवादीको मुद्धामा समन्वयकारी रूपमै भूमिका निर्वाह गरेका भन्दै पहिचान पक्षधरको पनि मत आउँने कांग्रेसको दाबी छ ।
गत निर्वाचनमा तत्कालीन कांग्रेस माओवादी गठबन्धनका साझा उम्मेदवार रहनुभएका पराग एमाले उपमहासचिव भट्टराईसँग २०८ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँ इमान्दार नेताको रूपमा समेत परिचित हुनुहुन्छ । तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज रहनुभएका पराग अहिलो नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
उहाँ यो पटक अघिल्लो मतलाई आकर्षित गर्दै विजयी हुने दाउमा हुनुहुन्छ । गाउँघरमै बसेर जनताको दुःख बुझ्ने भएका कारण यो पटको जित बुढाक्षेत्रीको पक्षमा हुने नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूको दाबी रहेको छ । तर, कम्जोर पार्टी सङ्गठनका कारण बुढाक्षेत्रीको संसदीय यात्रामा ब्रेक लाग्ने पो हाकी भनी आशङ्का समेत गर्न थालेका छन् ।
नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधि समेत रहनुभएका श्रेष्ठ पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो । रास्वप जिल्ला सभापति समेत रहनुभएका श्रेष्ठ रास्वपाको बड्दो क्रेज र आफ्नो व्यक्तित्व प्रस्तुत गरेर विजयी हुने तयारीमा हुनुहुन्छ ।
पेसाले इन्जिनियर रहनुभएका उहाँ परिवर्तनको मुल एजेन्डा लिएर मतदाता रिझाउनमा लागि पर्नुभएको छ । उहाँको जितमा सङ्गठनको भन्दा व्यक्तिगत प्रभाव महत्त्वपूर्ण हुने देखिन्छ । कांग्रेसमा राजनीति गरी प्रख्यात बनिसक्नुभएका कारण कांग्रेसकै मत बढी आउने रास्वपाको बुझाइ छ ।
यतिसम्म कि रास्वपाले साङ्गठानिक प्रतिवेदनमा कांग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङको वडा खेवाङमा बढी रास्वपाको सङ्गठित सदस्य रहेको समेत देखाएको छ । जहाँ कांग्रेसबाट विद्रोह गरेर वडाध्यक्ष जितेका बुद्धि दाहाल पनि रास्वपामै गर्नुभएका कारण रास्वपा अझै हौसिएको देखिन्छ ।
योसँगै मङ्गोल नेसनल अर्गनाइजेसनका सन्त लिम्बू, सङ्घीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का इन्द्र थापा, जनता समाजवादी पार्टी (जसपा) का अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा श्रम संस्कृति पार्टीका सुन्तोष राई, उज्यालो नेपालका कृतिमान मादेन, जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपती पौडेल रहनुभएको छ । १३ उम्मेदवार मध्ये कधिकांश पहिलो पटक निर्वाचनमा होमिएको र नयाँ उम्मेदवारको उदयले ताप्लेजुङको निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ । तर जिल्लामा एक जना पनि महिला उम्मेदवार नभएका कारण पछिल्लो समय बहसको विषय पनि बन्दै गएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका क्रमश नेकपा एमालेको तर्फबाट क्षितिज थेबे, नेपाली कांग्रेसको तर्फबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट खेलप्रसाद बुढाक्षेत्री (पराग) र राप्रपाबाट बिरेन्द्र श्रेष्ठ हुनुहुन्छ ।-gorkhapatraonline.



















