काम गर्नेलाई हेप्ने र गफ गर्नेलाई सम्मान गर्ने गलत संस्कार छ : हर्क साम्पाङ
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देश विकास हुन नसक्ने बताएका छन् । तनहुँको आँबुखैरेनीमा स्थानीयसँग भेटघाट गर्दै अध्यक्ष साम्पाङले गफले मुलुक नबन्ने बताए । उनले श्रमलाई मुलुक निर्माणको आधार मान्नुपर्ने बताए ।
साम्पाङले आफ्नो पार्टी गफभन्दा श्रमलाई प्राथमिकता दिने एक मात्र पार्टी रहेको दाबी गर्दै सबै नागरिक उत्पादनशील काममा जोडिनुपर्ने बताए । ‘काम नगरेर देश नबनेको हो। काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति छ। श्रम गरेर देशलाई स्वाधीन बनाउनु पर्छ,’ उनले भने ।
अध्यक्ष साम्पाङले राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाउँदै आफ्नो पार्टीले श्रमलाई व्यवहारमा उतारेको दाबी गरे। ‘काम नगरेर देश बनेको छैन। हामी कहाँ काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार छ। यो सोच बदल्न सकेनौँ भने देश कहिल्यै अगाडि बढ्दैन,’ उनले भने।
साम्पाङले देशका सबै नागरिकलाई उत्पादनशील काममा जोड्न नसक्दा बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान नहुने बताए। विशेष गरी युवाहरू श्रमबाट टाढा रहँदा ठूलो जनशक्ति बिदेसिन बाध्य भएको उनले बताए।
अध्यक्ष साम्पाङले विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने स्पष्ट पार्दै आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिए। ‘विदेशी आएर हाम्रो देश बनाई दिँदैनन्। आफ्नो देश आफैँले बनाउने हो। श्रमलाई मूल आधार मानेर हामी अघि बढेका छौँ,’ उनले थपे।



















