१६५ सिटका लागि ३५ सयको हाराहारीमा उम्मेदवारी

वेलकम खबर
माघ ६, २०८२

काठमाडौं । प्रतिनिधि सभा  सदस्य निर्वाचनका लागि कुल  ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन दर्ता गराएको छ। फागुन २१ गते निर्धारित चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ सिटका लागि देशभरिबाट पुरुष  ३ हजार ३७  र महिला ३ सय ९१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए। चुनाव हुन लागेको सिट भन्दा करिब २१ गुणा बढी उम्मेदवारी परेको छ। तेस्रो लिङ्गी समुदायबाट भने एक जना पनि उम्मेदवार मनोनयन नभएको आयोगले जानकारी दिएको छ।

प्रतिनिधि सभा सदस्यका लागि मनोनयन प्रक्रिया सकिएपछि अब दाबी-विरोध, अन्तिम नामावली र चुनावी तालिका अनुसारको प्रक्रिया अघि बढ्नेछ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ।

सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।  माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*