एमालेले भन्यो- ५४ प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनायौं
काठमाडौं : नेकपा एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको छ।नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सही दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको हो।
वर्तमान शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुन शासन, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेले तय गरेको लक्ष्यलाई हासिल गर्न आफ्ना उम्मेदवारलाई मतदान गर्न एमालेले आग्रह गरेको छ। निर्वाचनमा यसपटक ५४ दशमलव ५४ प्रतिशत नयाँ अनुहारलाई मौका दिइएको एमालेले जनाएको छ।
पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष राम बहादुर थापा बादलले एमालेले अघि सारेका मुद्दा र यसअघि गरेका कामका आधारमा आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए। राष्ट्रिय स्वाधिनतालाई पुनर्स्थापनाका साथै स्थायित्वका लागि पनि निर्वाचनमा सहभागी हुन जरुरी रहेको उनले बताए।
उनले मुलुकलाई निकास दिनका लागि आगामी दिनमा वामपन्थी शक्तिहरूबीच सहकार्य हुन सक्ने उल्लेख गरे। उनले एमालेको नेतृत्वमा देशभक्त र लोकतान्त्रिक शक्तिहरूको सरकार गठन गर्ने संकल्प गरेको र निर्वाचनमा अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको बताए।



















