२९ सय २५ जनाले गरे उम्मेदवारी दर्ता

३ सय ३६ महिला र दुई हजार ५ सय ८९ पुरुष उम्मेदवार
वेलकम खबर
माघ ६, २०८२

काठमाडौँ  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५ सय ८९ पुरुषले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी दिए । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उनको भनाई छ ।

कम दर्ता भएको मसस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिए । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको जनाइएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नंं क्षेत्रको बाँकी छ ।

सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट जानकारी आएको जनाइएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताए ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*