झापा–५ मा ओली र बालेन भिडन्तको संकेत

ओलीलाई बालेनको खुला चुनौती, हारले दुवैको राजनीतिक भविष्य धरापमा
वेलकम खबर
पुस २९, २०८२

–दुवैका लागि ‘करियर–डिसाइडिङ’ चुनाव
–दुईजना भिडेमा झापा–५ मुख्य चासोको केन्द्र बन्ने
–जोखिम केलाउन बालेनलाई विश्लेषकको सुझाव

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा धेरै चासो र रोमाञ्चक प्रतिस्पर्धा नेकपा एमालेका अध्यक्ष तथा चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह (बालेन) बीच हुने संकेत देखिएको छ । राजनीतिक वृत्तमा यो भिडन्तलाई ‘करियर–डिसाइडिङ’ चुनावका रूपमा हेरिन थालिएको छ । बालेनले पछिल्लो पटक आफ्नो फेसबुक स्टाटसमा ‘शुभकामना सबैलाई, हामी आउँदै छौं’ लेखेर झापामा चुनाव लड्न आउने सन्देश दिनुभएको अनुमान गरिएको छ ।

ओलीले लामो समयदेखि निर्वाचन जित्दै आएको झापा क्षेत्र नं ५मा यसपटक बालेनले प्रत्यक्ष चुनौती दिने तयारी गरिरहेको उहाँ निकट स्रोतले जानकारी दिएको छ । ओलीको सम्भावित पाँचौँ प्रधानमन्त्री बन्ने बाटो यही निर्वाचनसँग गाँसिएको छ । त्यही बाटो छेक्ने रणनीतिसहित बालेन मैदानमा उत्रन लागेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

तर, बालेनका लागि यो चुनाव सजिलो छैन । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा रास्वपा उम्मेदवार तेस्रो स्थानमै सीमित भएका थिए । प्रतिनिधिसभा निर्वाचन, २०७९ मा ओलीले सो क्षेत्रमा सर्वाधिक ५२ हजार ३ सय ११ मत ल्याएर विजयी बन्नुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएर तेस्रो बन्नुभएको थियो । रास्वपाका पोखरेलको भन्दा ओलीको मत चार गुणाभन्दा बढी आएको थियो ।

२०७९ सालको चुनावी गणित हेर्दा रास्वपाका बालेनलाई ओलीसँग चुनाव जित्न ‘फलामको चिउरा’ चपाएसरह कठिन हुने देखिएको छ । यद्यपि, अहिले परिस्थितिमा आमूल परिवर्तन भएको र जेन–जी आन्दोलनपछि ओली बद्नाम बनेको भन्दै बालेन र उहाँ निकटस्थहरू झापा–५ मा बालेनले जित्ने दाबी गर्दै उम्मेदवारी दिने योजनामा लागेका हुन् ।

संगठन, संरचना र स्थानीय पकडतर्फ ओली अझै बलियो देखिन्छन् । तर, बालेनको उम्मेदवारी घोषणासँगै उक्त क्षेत्र राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चासोको केन्द्र बन्ने निश्चितजस्तै छ । रास्वपाका सभापति रवि लामिछानेले पनि बालेनलाई केपी ओलीसँगै चुनाव लडेर विजय हासिल गर्न उक्साइरहनुभएको छ । केही विश्लेषकहरूले भने ओलीसँग बालेन चुनाव हारेमा उहाँको प्रधानमन्त्री बन्ने सपनामा धक्का लाग्न सक्ने भन्दै जोखिम पक्षको गहन विश्लेषण गर्न सुझाएका छन् ।

यदि, बालेन र ओली भिड्ने अवस्था आएमा दुवै पक्षले यो चुनावलाई प्रतिष्ठाको लडाइँ बनाउने तयारी गरिरहेका छन् । ओलीका लागि हारको अर्थ केवल एक सिट गुमाउनुमात्र होइन, दीर्घकालीन राजनीतिक अवसानतर्फको संकेत हुन सक्छ । चुनाव हारेमा ओलीको प्रधानमन्त्री बन्ने आकांक्षामा गम्भीर ‘ब्रेक’ लाग्नेछ ।

उता, बालेनका लागि पनि जोखिम कम छैन । यदि, उहाँले पराजय भोगे उहाँको प्रारम्भिक राजनीतिक यात्रामै गम्भीर धक्का लाग्नेछ । उदाउँदो राजनीतिक व्यक्तित्वका रूपमा रहेका बालेनका लागि यो चुनाव भविष्य निर्माणको अवसर पनि हो र राजनीतिक करियरमै प्रश्न उठाउने जोखिम पनि ।

यसैले, ओली–बालेन भिडन्त केवल दुई उम्मेदवारबीचको चुनाव होइन, दुई फरक राजनीतिक धार, शैली र पुस्ताबीचको निर्णायक टकराब बन्ने देखिएको छ । परिणाम जे आए पनि यो प्रतिस्पर्धाले नेपाली राजनीतिमा नयाँ मोड दिने विश्लेषण गरिएको छ ।

यस्तो छ २०७९ को निर्वाचनको मत परिणाम
केपी शर्मा ओली एमाले :५२,३११
खगेन्द्र अधिकारी, नेपाली कांग्रेस : २३,७४२
सुरेशकुमार पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी : ११,७५९

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*