समानुपातिक उम्मेदवारको बन्दसूचीमाथि आयोगको छानबिन सुरु

वेलकम खबर
पुस १६, २०८२

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरूले बुझाएका उम्मेदवारको बन्दसूचीमाथि छानबिन प्रक्रिया थालेको छ। आयोगले प्राप्त सूचीको अध्ययन गर्दै नाम, क्लस्टर तथा समावेशी मापदण्ड मिलेको–नमिलेको जाँच गर्न सुरु गरेको हो।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनले तोकेको व्यवस्था अनुसार क्लस्टर मिलान, उम्मेदवारको समावेश तथा असमावेशको परीक्षण भइरहेको छ। आयोगले पुस २० गतेसम्म प्रारम्भिक अध्ययन सम्पन्न गरी सम्बन्धित दलहरूलाई पत्राचार गर्ने जनाएको छ।

उनका अनुसार दलहरूले पुस २७ गतेसम्म आवश्यक संशोधन गर्न सक्नेछन् भने उम्मेदवारहरूले पुस २८ गतेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। नाम फिर्ता लिएपछि खाली हुने स्थानमा सोही समूहका अन्य उम्मेदवारको नाम पुस ३० गतेसम्म पेश गर्नुपर्नेछ।

आयोगको कार्यतालिका अनुसार माघ ४ गते उम्मेदवारको बन्दसूची प्रारम्भिक रूपमा सार्वजनिक गरिनेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धी दाबी–विरोधका निवेदन दर्ता गर्न सकिनेछ।

माघ ११ देखि १७ गतेसम्म आयोगले दाबी–विरोधको छानबिन गरी निर्णय गर्नेछ भने अन्तिम उम्मेदवारको बन्दसूची माघ २० गते प्रकाशन गरिनेछ। आयोगले तय गरेको तालिका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*