ताप्लेजुङको हाइड्रोपावरका एक श्रमिकको मृत्यु र एक घाइते
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ ६ पिपलचोकमा एकजना श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा तमोर फाइभ हाइड्रोपावरमा काम गर्ने दैलेख गुराँस ३ का २४ वर्षका भद्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताउनुभयो ।
शाहीलाई हाइड्रोपावरको सुरुङ खन्ने क्रममा माथिबाट ढुङ्गा झरेर लागेको थियो । शाहीलाई उपचारका लागि आधारभूत अस्पताल तापेथोकमा ल्याउँदा डाक्टरले मृतक घोषणा गरेका गरेको प्रहरीले जनाएको छ । सोही हाइड्रोपावरमा काम गर्ने बर्दिया मधुबनका आकाश खड्का पनि घाइते भएका थिए । घाइते खड्का लाई सामान्य उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको गौतमले बताउनुभयो।



















