कुलमानमाथि प्रचण्डको कटाक्ष : ‘बैगुनी’ले खाएको थालमै प्वाल पार्‍यो

वेलकम खबर
मंसिर २७, २०८२

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश पोखेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभामा प्रचण्डले कुलमानलाई ‘बैगुनी’को संज्ञा दिएका हुन् ।

आफ्नो प्रधानमन्त्री कालमा भएका कामहरूको चर्चा गर्दै प्रचण्डले लोडसेडिङ अन्त्यको श्रेय कुलमानले मात्र लिन खोजेको र आफूलाई नियुक्त गर्ने नेतृत्वलाई बिर्सेको आरोप लगाए ।

उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले लोडसेडिङबाट आक्रान्त नेपाललाई लोडसेडिङ मुक्त बनाउने ऐतिहासिक कार्य पूरा गरेका हौँ । यसलाई नराम्रो कसैले भन्न सक्दैन।’

कुलमानप्रति आक्रामक हुँदै प्रचण्डले भने, ‘भलै अहिले कुलमान घिसिङले जुन थालमा खायो, त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरुन्, बुद्धि फिरोस् भन्न चाहन्छु । यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले त्यसो गर्‍यो भने धेरै माफ पनि दिने जस्तो लाग्दैन।’

सभामा प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्री कालमा मध्य पहाडी लोकमार्ग, उत्तर-दक्षिण कोरिडोर, विभिन्न विश्वविद्यालय स्थापना र गरिब किसानहरूको ऋण मिनाहा गर्ने जस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको पनि स्मरण गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*