देउवाको मध्यमार्गी धारले फुक्यो गाँठो: पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय
काठमाडौँ।महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने रस्साकस्सीका बीच नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको विषय थाँती राख्दै नियमित महाधिवेशनको समय तालिका ल्याउन सफल हुनुभएको हो ।
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको माग गर्दै आइरहेका थिए तर अब उनीहरूको माग पनि तत्काललाई रोकिएको छ । सभापति देउवाको अगुवाइमा पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिका आए पनि महामन्त्रीद्वय भने विश्वस्त हुन सकेका छैनन् ।
उनीहरूले नियमित महाधिवेशन तोकिएको समयमा नभएमा विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै आएका छन् ।कांग्रेसले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ ।विशेष महाधिवेशन पक्षधर नेताहरूको भावनासमेत सम्बोधन हुने गरी पुसमा महाधिवेशन गर्ने निर्णय भएको कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताए ।
महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग चरणबद्ध छलफल गरेपछि गाँठो फुकेको हो ।



















