ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंको सन्देश : राजा बन्न पृथ्वीनारायण जस्तै मैदानमा आउनुपर्छ

वेलकम खबर
मंसिर १३, २०८२

भक्तपुर : ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् ।शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराजा र राजावादीहरूप्रति असन्तुष्टि पोखेका हुन्।

आफू राजसंस्था र हिन्दु राज्यको पक्षमा तीन वर्षदेखि लड्दै आए पनि पूर्वराजा निष्क्रिय बनेको र राजावादीहरूले पनि दोहोरो चरित्र देखाएको आरोप लगाए । सोही कारण आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनको गुनासो थियो ।प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामाथि प्रश्न उठाउँदै उनी सक्रिय हुनुपर्ने बताए। उनले पृथ्वीनारायण शाहको उदाहरण दिँदै राजा आफैं पनि सक्रिय हुनुपर्ने तर्क गरे ।

‘हिजो पृथ्वीनारायण शाह पनि त हातमा खुकुरी लिएर निस्किएर पो राजा भएका हुन् त। राजाको पनि त केही न केही त हुनुपर्यो नि त, जोड हुनुपर्यो, घटाउ हुनुपर्यो, बल हुनुपर्यो,’ प्रसाईंले भने, ‘राजाका मान्छे चार जना बाटोमा उफ्रिने, तर एउटा राजाको विज्ञप्ति पनि आउँदैन। राजा गएर दमकको चिया बगानमा घाम तापेर बस्ने ?’

प्रसाईंले आफूले राजाको मुद्दा नछोडेको तर राजा र राजावादीहरूले पनि आन्दोलनलाई साथ दिनुपर्ने र निष्क्रिय भएर बस्न नहुने स्पष्ट पारे। उनले प्रधानमन्त्रीको टेबलसम्म राजसंस्था र हिन्दु राज्यको माग पुर्‍याउनु आफ्नो सफलता भएको समेत दाबी गरे।प्रसाईंले आफू ३ वर्षदेखि राजा र हिन्दु धर्मको पक्षमा लडिरहेको, जेल बसेको तर अन्य राजावादी दल र नेताहरूले केही नगरेको दाबी गरे। उनले भने, ‘राजा ल्याउनको लागि लडेकै हो नि, जेल बसेकै हो त। कोही नगर्ने, अनि अहिले आएर विरोध गर्ने ?’ प्रसाईंले विदेशमा बसेर सामाजिक सञ्जालमा क्रान्तिकारी बन्ने तर आन्दोलनलाई सहयोग नगर्ने राजावादीहरूप्रति समेत उनले व्यंग्य गरे। उनले विदेशमा ग्रिन कार्ड लिएर बस्ने र नेपालमा आन्दोलन चर्काउन उक्साउनेहरूलाई ‘देश फर्केर आउन’ चुनौती दिए। उनले संसदबाट हटाएको राजालाई ल्याउन राजावादीहरूलाई भोट हालेर दुई तिहाई जित्ने व्यवस्था गर्न पनि आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*