एमाले सुनसरीका सदस्य धरानमा कुटिए

वेलकम खबर
मंसिर १२, २०८२

सुनसरी । एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर उत्पन्न भएको आन्तरिक विवाद खुला सडकमै हिंसात्मक रूप लिएपछि पार्टीभित्रको झनै तनाव चुलिएको छ। पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधामी माथि एमालेकै समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

एमाले धरान कार्यालय नजिकै बिहीबार बेलुका युवा संघ कोशी इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लागेको हो। कुटपिटपछि एमालेका अन्य कार्यकर्ताले उनलाई उद्धार गरी बिजयपुर अस्पतालमा भर्ना गरेका थिए। उपचारपछि राजधामी डिस्चार्ज भएका छन्।
राजधामी र दिवस दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासँगै संगठनभित्र चर्किएको प्रतिस्पर्धा सडकसम्म झरेको देखिएको छ। आक्रमणबारे दिवस राईले सामान्य ठेलाठेल मात्र भएको दाबी गरेका छन्। तर घाइते राजधामीले भने आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेर अनुहारमै गम्भीर चोट पुर्‍याएको भन्दै कडा आपत्ति जनाएका छन्।

यस घटनाले एमालेभित्र चलिरहेको एकता–अन्तरद्वन्द्वको वास्तविक स्वरूप उजागर गरेको छ। महाधिवेशन प्रतिनिधि छनोटजस्तो संवेदनशील प्रक्रियामा हिंसा भड्किनुले पार्टी नेतृत्वप्रति कार्यकर्तामाझ प्रश्न उठेको नेताहरूले बताएका छन्। धरानमा खुलेआम भएको कुटपिटको घटनाले एमालेको आन्तरिक द्वन्द्व अब सडकसम्म छताछुल्ल भएको पुष्टि गरेको छ। एमाले नेताहरू अहिले दुवै जनालाई मिलाउन लागि परेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*