कांग्रेसमा पार्टी विभाजनको चिन्ता !

वेलकम खबर
मंसिर ११, २०८२

काठमाडौ । नेपाली कांग्रेसभित्र पार्टीको १५औं महाधिवेशनका विषयमा अझै सहमति जुट्न सकेको छैन । बिहीबार १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक शुक्रबार २ बजेलाई सारिएको छ ।
नेताहरू आआफ्नो अडानमा कायमै रहदा कांग्रेसभित्रको महाधिवेशन विवाद थप पेचिलो बन्दै गएपछि बैठक फेरि सारिएको हो । महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधरले दवाव बढाउँदै लगेपछि कांग्रेसका संस्थापन पक्ष बहुमतबाट फागुन २१ गतेको निर्वाचनपछि महाधिवेशन गर्ने कार्यतालिकासहित बहुमतबाट निर्णय गरेर जानुपर्ने पक्षमा उभिएका छन् । तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्का साथै नेता शेखर कोइराला जुनै पनि निर्णय सहमतिका आधारमा गर्नुपर्ने पक्षमा छन् ।
बहुमतका आधारमा गरिने निर्णयले पार्टी विभाजन हुने जनाउँदै आफू त्यसको विपक्षमा रहेको दुबै नेताहरूले निकटहरूसँग बताउने गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले कार्यवाहक सभापति खड्का पार्टी फुट्ने गरी कुनै निर्णय नगर्ने, बरु कार्यवाहक सभापतिको जिम्मेवारी छाड्न तयार रहेको बताए । सहमतिका लागि कार्यवाहक सभापति सक्रिय रहेको जनाउँदै खतिवडाले भने,‘विवादित निर्णय आफ्नो हातबाट नहुने कुरा उहाँको प्रस्ट छ ।’
शनिबार बसेको पार्टी केन्द्रीय समितिले सर्वसहमतिबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि दल दर्ता गराउने निर्णय भएको खतिवडाले जानकारी दिए । तर, महामन्त्री थापाले दुई दिनपछि सामाजिक सञ्जाल फेसबुकमा सभापतिको हस्ताक्षर चल्दैन भन्ने अभिव्यक्ति ठिक नभएको दाबी गरे । महामन्त्रीकै प्रस्तावमा दल दर्ता गर्ने र सभापतिकै हस्ताक्षर प्रयोग गर्ने सर्वसहमतिबाट निर्णय भएको उनले दाबी गरे । तर, महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विशेष महाधिवेशनबाट नयाँ सभापति चयनसहित निर्वाचन आयोगको निर्णय सच्याएर अघि बढ्ने दाबी लेखेका थिए, ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो रु मैले भने होइन ।’
सभापति देउवासहितका नेताहरूले महामन्त्री थापाको उक्त भनाइप्रति रुष्ट बनेका छन् । पार्टी विभाजन गर्नेतर्फ महामन्त्रीहरू लागेको त होइन भन्ने आशंका देउवाले निकट नेताहरूको भेटमा गरेको एक नेताले जानकारी दिए ।
कार्यवाहक सभापतिको जिम्मेवारी दिएर बस्दा पनि आफ्नो अपमान गर्न नछाडेको गुनासो गर्दै देउवाले निर्वाचनअघि महाधिवेशन गर्दा त्यसले नेता तथा कार्यकर्तामा तिक्ता ल्याउने र निर्वाचन परिणाम असर गर्ने बताउने गरेको सुनाए ।-nagariknews

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*