प्रधानमन्त्री र १२५ दलका प्रतिनिधिबिच सिंहदरबारमा निर्वाचनबारे छलफल को को सहभागी छन् ?
काठमाडौँ : सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सरकारका काम कारबाहीबारे जानकारी गराउने र निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठक केही बेरअघि मात्र सुरु भएको हो।
अपराह्न ४ बजेका लागि तय गरिएको बैठक नेताहरू ढिलो पुगेका कारण केही समय ढिलाइ भएको बताइएको छ। बैठकमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका नेताहरू सहभागी छन्।
नेपाली कांग्रेसबाट प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र महेश बर्तौला, नेकपाबाट वर्षमान पुन र राजेन्द्र पाण्डे, रास्वपाबाट गणेश पराजुली बैठकमा उपस्थित छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान, जसपा नेपालबाट प्रकाश अधिकारी, नागरिक उन्मुक्तिबाट अब्दुल खान, जनता प्रगतिशीलबाट हृदयश त्रिपाठी तथा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन्।
यसबाहेक, उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि बैठकमा सहभागी छन्।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर निकायका प्रमुखहरू पनि उपस्थित रहेको जनाइएको छ।



















