विशेष महाधिवेशन नभए राजीनामा दिन्छु : शर्मा
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विधानअनुसार माग गरिएको विशेष महाधिवेशनलाई अवज्ञा गर्न नहुने बताएका छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले विधानका आधारमा हस्ताक्षरसहित लिखित माग गरिसकेको अवस्थामा उल्टो निर्णय भए आफू महामन्त्री पदबाट राजीनामा बताएका हुन् ।उपचारपछि शुक्रबार सिंगापुरबाट फर्केका सभापति देउवालाई आइतबार अपराह्न भेट्न पुगेका शर्मासँग करिब डेढ घण्टा छलफल भएको थियो । सो क्रममा शर्माले विशेष महाधिवेशन पार्टी विधानले नै व्यवस्था गरेको बाध्यकारी प्रक्रिया भएकाले त्यसलाई बेवास्ता गर्नु अस्वीकार्य हुने बताए ।
हात्तिसारको एक रेस्टुरेन्टमा नेताहरूसँग भएको छलफलमा शर्माले देउवालाई भनेको कुरा सुनाउँदै भने, ‘संसद् विघटन संविधान विपरीत भएको भन्दै काँग्रेसले प्रतिवाद गर्छ, तर आफ्नै विधानसम्मत प्रक्रियालाई बेवास्ता गरियो भने हामी विधानसम्मत रूपमा चलेको हुँदैनौँ।’
शर्माले देउवासँग राखेको धारणा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि जानकारी गराइसकेका छन् । काँग्रेस विधानको धारा १७(२) अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।



















