हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता

वेलकम खबर
कार्तिक ३०, २०८२

काठमाडौं ।निर्वाचन घोषणा भएयता मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या २ लाख ८१ हजार १ सय २९ पुगेको छ ।सरकारले मुलुक निर्वाचनमा होमिएको दाबी गर्दै आएको स्थितिमा निर्वाचनको घोषणापछि सो सख्ंयामा नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् । जेन–जी विद्रोहपछि गत भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा सरकार बनेसँगै यही फागुण २१ गते हुने गरी प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको थियो । सरकारले अध्यादेश ल्याएर मतदाता नामावली दर्ता गराउने बाटो खोलेकोले असोज ९ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गराउने अवधि तोकिएकोमा पाँच दिन थप गरेपछि यो संख्यामा अझ वृद्धि हुने आयोगले जनाएको छ । त्यसै गरी राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन शुरु गरेपछि नयाँ मतदाताको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर शुक्रबार राति ९ः०० बजेसम्म ५० हजार २ सय १७ पुरूष, ३० हजार २ सय ३५ महिला र चार अन्य गरी ८० हजार ४ सय ५६ नयाँ मतदाता थपिएका छन् ।

सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औंठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको संख्या बढेको छ ।

आयोगले राष्ट्रिय परिचयपत्र भएकाहरूले शनिवार पनि अनलाइनबाट नाम दर्ता गराउन सकिने व्यवस्था मिलाएको थियो । राष्ट्रिय परिचयपत्र नभएका हकमा पहिले नै निवेदन दिइसकेकाहरुले मात्र शनिवार जैविक विवरण दिन सकिने व्यवस्था मिलाइएको थियो । आयोगका अनुसार सबै प्रदेशमा शनिवार पनि नामावली दर्ताका लागि जैविक विवरण दिन सकिने व्यवस्था मिलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*