प्रचण्ड छोडेका बाबुराम, जनार्दन र रवि लामिछाने छोडेका सन्तोष परियार एकै ठाउँ
काठमाडौं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र शुक्रबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सचिवालय सदस्य सन्तोष परियारबीच ५ बुँदे सहमति भएको छ।
नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच आज ५ बुँदे सहमति भएको हो। बाबुराम भट्टराईले अध्यक्ष परित्याग गरेपछि सोव संयोजक बनेकी थिइन्, किराँती जनार्दन शर्मा नेतृत्वको अभियानमा छन् भने परियार आजै रास्वपा छाडेर आएका हुन्।
हस्ताक्षर समारोहमा नेसपा नयाँ शक्तिका डा बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मालगायत सहभागी छन्।
‘देशको गम्भीर अर्थ-राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्षका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियारबीच सहमति सम्पन्न भएको छ।



















