पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा काठमाडौं महानगरले चलायो डोजर
काठमाडौं : पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। नेपाल स्काउटले गत बिहीबार खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गर्दै आज डोजर चलाएको हो।
जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो।नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन।
काठमाडौँ महानगरपालिका साबिक वडा नं. २९ (हाल का.म.न.पा. वडा नं. २६) लैनचौरस्थित कित्ता नं. १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा यस नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.का बीचमा मिति २०६५ सालमा सम्झौता भई १० वर्षका लागि जग्गा भाडामा लिई उक्त कम्पनीले भोग चलन गर्दै आएको सन्दर्भमा मिति २०७५ सालदेखि सम्झौताको अवधि समाप्त भएको थियो ।’ यस अगाडिको सूचनामा भनिएको छ,‘तर अवधि र पार्किङ लगायतका विषयमा विवाद उत्पन्न भई उजुरी परी सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०७६/०३/१८ को फैसलाको आधारमा उक्त जग्गा, खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएकोमा नेपाल स्काउटले जिल्ला अदालतको फैसला उपर पुनरावेदन गरी मिति २०७९ असार १३ गते श्री उच्च अदालत पाटनबाट फिराद खारेज हुनेगरी पुनरावेदक प्रतिवादीको नाममा जारी भएको मिति -२०७६ असार १८ गतेको सुरु काठमाडौँ जिल्ला अदालतको आदेश नमिलेकाले बदर भई प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहर्छ भनी अन्तिम फैसला भई सो उपर विपक्षीको पुनरावेदन नलाग्ने ठहर भएको थियो ।’
स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै हारगुहार गर्दै आएको थियो। स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरेका थिए।




















