कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टी, आयोगमा बुझायो ५१ सदस्यीय सूची
काठमाडौं । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मंगलबार साँझपख मात्रै उक्त पार्टीले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची आयोगमा बुझाएको हो ।
केन्द्रीय कमिटीमा ५१ जना केन्द्रीय सदस्यहरू रहेको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए । यसअघि नै निर्वाचन आयोगमा रहेको उज्यालो नेपाल पार्टीमा केन्द्रीय कमिटी र विधान थप गर्दै मंगलबार उक्त सूची बुझाइएको लामाले बताए ।
‘हाम्रो यो नाम पहिल्यै आयोगमा थियो । अहिले त्यसमै केन्द्रीय कमिटी र विधान थप गरेका हौं,’ उनले भने, ‘पूर्वसचिव अनुपकुमार उपाध्यायकै नाममा पहिल्यै भएको नाममा यी अपुग भएका विवरण थप गरेका हौं।’ यसमा हिजो सुदन समूहका जेनजीका प्रदेश संयोजक पनि थिए । तर, मंगलबार उनीहरूले अहिले केन्द्रिय कमिटीमा नआउने, पछिल्लो चरणमा सहकार्य गर्ने भनेपछि सोमबारको सहमतिमा हेरफेर गर्नुपरेको सो पार्टीले जनाएको छ ।घिसिङको पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, युवा अभियन्ता सागर ढकाल, अभिनेत्री रीमा विश्वकर्मासमेत आबद्ध भएका छन्। त्यस्तै घिसिङको पार्टीमा डा. तारा प्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण यादव, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङलगायत रहेका छन्।
हेर्नुहोस् सूची :



















