कैद बापतको रकम बुझाएर छुटे एमाले नेता शेर्पा

वेलकम खबर
कार्तिक २४, २०८२

काठमाडौ । बहुविवाह मुद्दामा पक्राउ परेका नेकपा (एमाले)का नेता पासाङ शेर्पा कैद बापतको रकम तिरेर छुटेका छन्।आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले कैद बराबरको रकम बुझाउन मिल्ने गरी आदेश दिएसँगै शेर्पा रकम बुझाएर छुटेका हुन्।

कात्तिक १८ गते बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।उनीविरुद्ध बहुविवाह कसुरमा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो। काठमाडौं जिल्ला अदालतले तोकेको उक्त कसुर उच्च अदालत पाटनले सदर गरेको थियो।

गम्भीर प्रकृतिको बाहेक एक वर्षमुनिको कैद सजाय बराबर रकम बुझाएर छुट्न मिल्ने व्यवस्था छ।मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५५ ले उक्त व्यवस्था गरेको छ। यसअनुसार अदालतले आदेश दिए दिनको तीन सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने व्यवस्था छ।शेर्पाले त्यही व्यवस्थाअनुसार कैदबाट छुट पाऊँ भनेर निवेदन दिएका थिए। उक्त निवेदन अनुसार उनले दिनको तीन सय रुपैयाँ दर अनुसार एक लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*