२४ भदौको विध्वंसमा संलग्न १४१ विरुद्ध मुद्दा, ३७५ जना पक्राउ

आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहारसम्बन्धी मुद्दा बढी
वेलकम खबर
कार्तिक २०, २०८२

काठमाडौं  ।जेन–जी आन्दोलनका क्रममा घुसपैठ गरी २४ भदौमा मच्चाइएको विध्वंसमा संलग्नहरूमध्ये हालसम्म ३७५ जना अभियुक्त पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार आन्दोलनका क्रममा अपराध कर्ममा संलग्न १४१ जनाविरुद्ध विभिन्न मुद्दा दायर गरिएको छ भने अपराध कर्ममा संलग्नहरूको खोजी कार्य जारी राखिएको छ ।

प्रहरीका अनुसार आपराधिक कार्य र विध्वंसमा संलग्न भएकाहरूलाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजाना शीर्षकमा मुद्दा दायर गरिएको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै २१८ जना पक्राउ परेका छन् भने काठमाडांैका विभिन्न घटनामा संलग्न भएकाहरूविरुद्ध ९६ वटा मुद्दा दायर गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने र मुद्दा दायर हुनेमा कोशी प्रदेशमा ३० जना पक्राउ र ४ वटा मुद्दा दायर गरिएको छ भने मधेसमा २१ जना पक्राउ र ६ वटा मुद्दा, वागमतीमा (उपत्यकाबाहेक) ३३ जना पक्राउ र ११ वटा मुद्दा र गण्डकी प्रदेशमा ३२ जना पक्राउ परेका छन् भने ७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २९ जना पक्राउ, ११ वटा मुद्दा, कर्णालीमा ४ जना पक्राउ र ३ वटा मुद्दा र सुदूरपश्चिम प्रदेशमा ८ जना पक्राउ र ३ वटा मुद्दा दायर गरिएको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते सरकारबाट चरम दमन हुँदा सोही दिनमात्रै २१ जनाको मृत्यु भएको थियो भने सयांै घाइते भएका थिए । त्यसको प्रतिरोधस्वरूप २४ भदौमा मुलुकमा ठूलो विध्वंस र आपराधिक घटना भएको थियो । सोही दिन घुसपैठ गर्नेहरूले ३ जना प्रहरीलाई कुटीकुटी हत्या गरेका थिए ।

यसै गरी राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरका रूपमा रहेका सिंहदरबार, प्रतिनिधिसभा, सर्वोच्च अदालत, अख्तियार, देशभरका प्रहरी चौकीहरू, स्थानीय तह, अन्य सरकारी कार्यालयहरू, सयौं नेताका घरहरू, पार्टी कार्यालयहरू र विभिन्न होटलहरू ध्वस्त पारिएका थिए । यसरी विभिन्न संरचनाहरूमा जथाभावी आगो लगाउँदा सोही आगलागीमा परी दर्जनौंको मृत्यु भएको थियो । भदौ २३ र २४ को घटनामा गरी जम्मा ७६ जनाले ज्यान गुमाएका थिए भने खर्बौंको क्षति हुन पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*