तमोर करिडोर ,मेची राजमार्ग अवरुद्ध उता विपी राजमार्ग पनि ठप्प
काठमाडौं । निरन्तरको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् । तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी-पहिरोका कारण अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैगरी मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ । गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो । मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।उता बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।



















