प्रधानमन्त्रीको सचिवालयले भन्यो : बालेन शाहले गृहमन्त्री हटाउन दबाब दिएको भन्ने समाचार भ्रमपूर्ण हो

वेलकम खबर
कार्तिक १३, २०८२

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनको लागि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दबाब दिएको भनेर विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकिय सचिव आदर्शकुमार श्रेष्ठले आज एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री हटाउन बालेनले दबाब दिएको भन्ने समाचार भ्रमणपूर्ण रहेको भन्दै सो विवरणलाई लिएर प्रधानमन्त्रीको ध्यानाकार्षण भएको उल्लेख गरेका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ । कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’

जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको उल्लेख गर्दै श्रेष्ठले यस्तो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेको जनाईएको छ । यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई प्रधानमन्त्रीको सचिवालयले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*