यस्ता छन् ओलीले अघि सारेका नयाँ मार्गचित्र, जेनजीसहितको सर्वपक्षीय सरकार
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ मार्गचित्र प्रस्तुत गरेका छन्। वर्तमान संकटको समाधानका लागि भन्दै उनले ६ नयाँ मार्गचित्र अघि सारेका हुन्।
अध्यक्ष ओलीले असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गरिनुपर्ने उल्लेख गरेका छन्। यस्तै प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गरिनुपर्ने उनले बताए। जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफू पुनः प्रधानमन्त्रीको दाबी नगर्ने उनले घोषणा गरे।
अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय वा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने मार्गचित्रमा उल्लेख गरे। यस्तै उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन गर्नुपर्ने भन्दै फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव रहेको बताए। अध्यक्ष ओलीले संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनीतिक दलहरुबीच अग्रिम सहमति निर्माण हुनुपर्ने मार्गचित्र अघि सारेका छन्।-annapurnapost



















