देउवा दम्पती उपचारका लागि सिंगापुर जार्दै
ताप्लेजुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो।
सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो।त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरिएको थियो।सभापति देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘सभापतिज्यू थप उपचारका लागि सिंगापुर जाने तयारीमा हुनुहुन्छ, कहिले जाने निश्चित भइसकेको छैन,’ मुख्यसचिव पौडेलले भने।सभापति देउवा एक, दुई दिनमा सिंगापुर जाने तयारीमा रहेको उनीनिकट नेताहरूले बताएका छन्।असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घरभित्रै छिरेर प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए भने घरसमेत आगजनी गरेका थिए।



















