गृहले जारी गर्‍यो ७७ वटै जिल्लालाई ८ बुँदे परिपत्र

वेलकम खबर
अशोज १८, २०८२

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्लालाई ८ बुँदे परिपत्र जारी गरेको छ । मनसुनजन्य विपदको न्यूनीकरण तथा उद्धार कार्यको सहजीकरण तथा प्रभावकारी बनाउन गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।गृहले असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनमा रोक लगाएको छ । त्यसलाई अनुगमन र निगरानी गर्न पनि परिपत्र गरेको छ ।

त्यस्तै, राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरेर गन्तव्यमा पु¥याउन सहजीकरण गर्न विभिन्न स्थानीय तह तथा संघसंस्थाहरूसँग समन्वय गर्न भनिएको छ। खानपानको व्यवस्थापनका लागि समन्वय गर्न पनि भनिएको छ ।राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी गन्तव्यमा पु¥याउन पनि सहयोग गर्ने भनिएको छ ।

बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूको हकमा नजिकको बर्थिङ सेन्टरम्म पु¥याउने अवस्था मिलाउन भनिएको छ । त्यस्तै बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ ।मौसमका कारण उडान स्थागित भएर विमानस्थलबाट फर्केका यात्रुहरूलाई पनि यातायात व्यवसायीसँग समन्वय गर्न अनुरोध गरिएको छ । त्यस्तै बाढीपहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न पनि प्रशासन कार्यालयलाई भनिएको छ ।सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था गर्न पनि भनिएको छ । यी सबै कामको प्रगति विवरण विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*