भारतमा पनि जेनजी आन्दोलन: ४ जनाको मृत्यु, मोदीको पार्टी कार्यालयमा आगजनी

वेलकम खबर
अशोज ८, २०८२

काठमाडौं । भारतको लद्दाखमा राज्यको माग चर्किँदै जाँदा आन्दोलन हिंसात्मक बनेको छ । लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यम इन्डिया टूडेका अनुसार, आन्दोलन चर्किएपछि आक्रोशित भीडले लेहस्थित भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेको छ । साथै, एउटा गाडीमा समेत आगो लगाइएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठीचार्जको प्रयोग गरेको थियो । तर, अवस्था झन् तनावपूर्ण बन्दै गएको छ ।

सन् २०१९ मा भारतको केन्द्र सरकारले संविधानको धारा ३७० हटाउँदै जम्मू कश्मीरलाई दुईवटा केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो । त्यसपछि लद्दाखलाई छुट्टै केन्द्रशासित प्रदेश बनाइए पनि स्थानीय जनताले आफ्नै विधानसभा र राजनीतिक अधिकारको माग गर्दै आएका छन् ।

स्थानीयको आरोप छ– दिल्लीबाट प्रत्यक्ष शासन थालिएसँगै लद्दाखबासीको राजनीतिक प्रतिनिधित्व र अधिकार खोसिएको छ । उनीहरूले लद्दाखलाई भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग पनि दोहोरÞ्याउँदै आएका छन् ।

छैटौँ अनुसूचीअन्तर्गत परेमा आदिवासी तथा स्थानीय समुदायलाई भूमि, रोजगारी, भाषा र संस्कृतिमा विशेष अधिकार मिल्ने व्यवस्था भारतीय संविधानमा छ । तर लद्दाख यस अनुसूचीमा नपरेकाले बाह्य जनसंख्या र पूँजी प्रवाह बढेर स्थानीय सम्पदा र संस्कृति नै खतरामा पर्ने चिन्ता बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*