अर्थमन्त्रीलाई भेटेर व्यवसायीले भने– सरकारलाइ साथ दिन तयार छाैँ

वेलकम खबर
भदौ ३१, २०८२

काठमाडौ ।  निजीक्षेत्रले सरकारलाई साथ दिन तयार रहेकाे बताएकाे छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार मन्त्री रामेश्वर खनाललाइ भेट्दै निजीक्षेत्रका प्रतिनिधिहरूले अर्थतन्त्रकाे पुनर्निर्माणमा सहयाेग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

२३, २४ भदाैकाे आन्दोलनमा सरकारी तथा निजीक्षेत्रमा ठूलाे क्षति भएकाे हुँदा आफू पनि उठ्दै र सरकारलाई पनि सघाउँदै अघि बढ्न तयार रहेकाे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए । उनले जुनसुकै अवस्थामा पनि निजीक्षेत्र सरकारसँग सहकार्यका लागि हातेमालाे गर्न तयार रहेकाे स्पष्ट पारे ।

साथै अध्यक्ष ढकालले अर्थमन्त्रीलाई अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजीक्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरणको सुनिश्चितता कायम गर्न, राजस्व बुझाउने समय थपेर जरिवाना र दण्ड हटाउने व्यवस्था गर्न सुझाव दिए ।

महासंघले सोमबार २५ गतेसम्म बुझाउनुपर्ने राजश्व विवरणको समय थपको माग गरेको थियो । छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

नवनियुक्त अर्थमन्त्री खनालले मंगलबार एक महिना थप गर्ने मन्त्रीस्तरीय निर्णय गरेकाे भेटमा जानकारी दिएकाे निजीक्षेत्रका प्रतिनिधिहरूकाे दाबी छ । सोही छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजीक्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट पनि पुनरोत्थानमा सहयोग उपलब्ध गराउन सक्ने सुझाए ।यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले वर्तमान परिस्थतिमा व्यवसायीको आत्मविश्वास मजबुत बनाउँदै पुनःउत्थानमा जुट्नुपर्ने र त्यसको लागि आफूहरू तयार रहेको बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली अर्थतन्त्रमा निजीक्षेत्रको ठूलो योगदान रहको चर्चा गर्दै व्यवसायीको आत्मबल उठाउँदै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको औल्याए । अर्थमन्त्रीसँग नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतका व्यवसायीले भेट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*