‘राष्ट्रपति र सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ नयाँ सरकार गठन हुनुपर्छ’

वेलकम खबर
भदौ २६, २०८२

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन्। बिहीबार एक विज्ञप्तिमार्फत भण्डारीले भनेकी छिन्, ‘अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रीपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ । यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ । संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ ।’

भण्डारीले पार्टीहरूले संस्थागत ढङ्गले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर अघि बढ्नु पर्ने बताएकी छिन् । भनेकी छिनन्, ‘राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठुलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने हो । एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टिका टिप्पणी गर्न सुहाउँदैन । पार्टीहरूले संस्थागत ढङ्गले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ ।’

प्रेस विज्ञप्तीको पूर्ण पाठ
‘जेनेरेशन जेड’का नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित गत सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि १९ जना युवाहरूको निधन भएको घटनाको भोलिपल्टै देशव्यापीरूपमा भड्किएको हिंसा, आगजनी, तोडफोड, लुटपाट र कुटपिट लगायतका ध्वंसात्मक गतिविधिहरूका कारण मुलुक स्तब्ध भएको छ । अहिलेसम्म ३४ जनाको ज्यान जानुका साथै हजारौँ घाइते भएका छन् । यस घटनामा परी निधन भएका आन्दोलनकारी युवा, सर्वसाधारण र सुरक्षाकर्मी सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु । साथै, घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपाचारको व्यवस्था मिलाउनु पर्ने विषयमा जोड दिन चाहन्छु ।

आधुनिक राजनीतिक प्रणालीमा लोकतन्त्र, मानव अधिकार, कानुनी शासन, नागरिक अधिकारजस्ता मानव सभ्यताले विकास गरेका राज्य सञ्चालनका आधारभूत प्रस्थापनाहरूलाई सधैँ आत्मसात गर्नै पर्दछ । यी विषयहरू मानव समुदायका आदर्श नै हुन् । आजको नयाँ पुस्ता जो शिक्षित छ र आधुनिक विज्ञान तथा प्रविधिमा जानकारी राखेर त्यसको अभ्यासमा समेत पोख्त छ, उसले लोकतन्त्रका मूलभूत मान्यताहरूलाई स्वीकार गर्दै आर्थिक समृद्धि सहितको सुन्दर भविष्य बनाउने अठोट गर्नु खुसीको विषय हो । भविष्य नव पुस्ता र युवा पुस्ताकै हो, किनकी उसँग मुलुक निर्माण गर्ने लामो समय रहेको हुन्छ । त्यसैले हामीले नव पुस्ता र युवा पुस्ताको असल जुर्मुराहट, देश विकास गर्ने आँट, सुशासन र पारदर्शीता कायम गर्ने संकल्पलाई सही दिशामा उन्मुख गराउनका लागि भूमिका निर्वाह गर्नै पर्दछ । यसका लागि स्वयं युवा पुस्ता पनि सुझबुझपूर्ण ढङ्गले अग्रसर बन्नु पर्दछ ।

शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको हाम्रो देशमा किन बारबार द्वन्द्व र हिंसा भइरहेको छ रु एकैदिन एकै समयमा किन राष्ट्रपति भवन, संसद भवन, मुलुकको प्रशासिक केन्द्रको रूपमा रहेको ऐतिहासिक सिंहदरबार, न्याय सम्पादनको उपल्लो निकाय सर्वोच्च अदालत जल्छन्, अँगार हुन्छन् र खरानी हुन्छन् रु हाम्रा ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदामाथि किन आगो लगाइन्छरु देशका जिम्मेवार राजनीतिक नेतृत्वका घर–आवास, हाम्रो देशका उद्योग व्यवसाय, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी किन र कसरी एकै समयमा भएको हो रु ‘जेन–जी’ पुस्ताका प्यारा भाइबहिनीहरूलाई म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछु । यसको जवाफ खोज्न समेत सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु ।

नेपाली जनताले लोकतान्त्रिक प्रणाली एवं गणतन्त्रको स्थापनाका लागि बलिदानीपूर्ण संघर्ष गरेको गौरवाशाली इतिहास छ । लामो राजनीतिक संक्रमणकाललाई समाप्त पार्दै दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरेर सामाजिक न्याय र समानतामा आधारित विकसित नेपाल बनाउने हेतुले जननिर्वाचित संविधानसभाले बनाएको नेपालको संविधान २०७२ हाल कार्यान्वयनमा रहेको छ । नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको यो संविधान एउटा उत्कृष्ट संविधान समेत हो । त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ । प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रीपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ । यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ । संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ । यसो गरिरहँदा आन्दोलनकारी जेन–जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्‍याउनु पर्दछ ।

हाम्रो देश नेपाल र यसको सार्वभौमिकता, अखण्डता र स्वाधीनता हामीलाई प्राणभन्दा प्यारो छ । राष्ट्र र राष्ट्रियताप्रति हामीलाई असाध्यै गर्व छ । देशप्रेमको भावना हाम्रो नशा–नशामा छ । हाम्रा बहादुर पुर्खाको समर्पण र त्यागले नै हामीले आफूलाई नेपाली भन्न पाएका हौँ । सदा स्तुत्य हाम्रा पुर्खाको नासोको रूपमा रहेको प्राकृतिक स्रोत, सम्पदा र सुन्दरताले भरिपूर्ण यस देशको विकास गरेर विश्वसामु सर्वोच्च शीखर सगरमाथा भएको एउटा समृद्ध मुलुक बनाउने संकल्प साकार पार्न संवैधानिक तथा कानुनी प्रावधान एवम् राज्यका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु चुनौती बनेको
छ । यसका लागि सबै राजनीतिक दलहरूले विगतको गम्भीर समीक्षा गरी मुलुकको आर्थिक नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नै पर्दछ ।
राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठुलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने हो । एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टिका टिप्पणी गर्न सुहाउँदैन । पार्टीहरूले संस्थागत ढङ्गले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ । यस विषयमा सम्बद्ध सबैको थप ध्यान पुग्नेछ भन्ने मलाई लागेको छ ।

म विश्वास गर्दछु, सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको नेपाली समाजलाई जीवन उत्सर्ग गरेर फेरि स्वतन्त्रताको परिवेशमा फिर्ता ल्याउने ‘जेन–जी’ ले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी नै हुनेछ । यस सन्दर्भमा ‘जेन–जी’ को उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन र नागरिक सर्वोच्चतामा चोट पुर्‍याउनु हुँदैन भन्नेमा पुनः जोड दिन चाहन्छु । यस्तो कठिन परिस्थितिमा पनि धैर्यता, संयम र सहज परिवेशको आशा लिनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति आभार प्रकट गर्दछु । साथै, शान्ति तथा अमनचयन कायम गर्न अहोरात्र खटिरहने नेपाली सेना लगायत सुरक्षा निकायको सराहना गर्दछु ।
धन्यवाद ।

विद्यादेवी भण्डारी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*