प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पहिलो बरियतामा रहेका एआईजी खापुङलाई नै महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
खापुङ आफ्नो ब्याचका एक्लो एआईजी हुन् । हालका प्रहरी महानिरीक्षक दीपक थापा आगामी भदौ १८ गते अनिवार्य अवकास हुने भएपछि एक साता अघि नै खापुङलाई आईजीपी नियुक्त गरिएको हो ।
विद्यमान प्रहरी ऐन र नियमावलीअनुसार वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावलीमा उल्लेख ३० वर्षे सेवा अवधिका कारण उनी १८ भदौ राति १२ बजेबाट अनिवार्य अवकाश हुनेछन् । उनी अवकाशमा जाने भएपछि ३२औं आईजीपीका लागि प्रतिस्पर्धाको बाटो खुलेको हो ।
१९ भदौ २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका थापा ५ चैत २०८१ मा आईजीपीमा बढुवा भएका थिए । ६ महिना प्रहरी प्रमुख बनेका उनीपछि खापुङ प्रहरी प्रमुुख बनेका हुन् । खापुङ ३२ औं आईजीपीका लागि आफ्नो ब्याचको एकल प्रतिस्पर्धी थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निर्देशक (एआईजी) को जिम्मेवारीमा रहेका खापुङले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए ।
तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन लटमा नियुक्ति दिइयो । पहिलो लटमा ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए ।
दोस्रो लटमा १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने । उनी पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ अहिले एकल प्रतिस्पर्धी थिए ।
उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य गत १० जेठमा ५६ एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा गइसकेका छन् । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।



















