राजीनामा दिंदै मन्त्री गुप्ताले लेखे–कहिले काहिँ नखाएको बिष पनि लाग्दोरहेछ

वेलकम खबर
असार ३१, २०८२

काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता स्वयंले आज बिहान पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । आज सामाजिक सञ्जालमार्फत मन्त्री गुप्ताले राजीनामा घोषणा गरेका हुन् । उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए ।

उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्री निकट स्रोतले बतायो । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ । उनले लेखेका छन्, ‘कहिले काहिँँ नखाएको बिष पनि लाग्दोरहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’

गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको बताए । उनले लेखेका छन्, ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नु हुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । अब फेरि एक पटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्टाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।’ उक्त प्रकरण प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए । अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*