धनी राष्ट्रलाई प्रधानमन्त्री सन्देश: ‘वाचा पूरा भएन, ऋणले निसास्सियौं’

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित राष्ट्रहरूले एक दशकअघि गरेको वाचाहरू पूरा नगरेको बताउनुभएको छ ।उहाँले अल्पविकसित देशहरू ऋणको बोझले निसास्सिरहेको र विश्वव्यापी असमानता खतरनाक ढंगले बढिरहेको बताउँदै तत्काल अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधारको माग गर्नुभयो ।
सोमबार स्पेनको सेभियामा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ लाई अल्पविकसित देशहरूको समूह र नेपालको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले १० वर्षअघि अदिस अबाबामा विश्वले अल्पविकसित देशहरूसँग ऐक्यबद्धता जनाएको तर आज अवस्था झनै भयावह बनेको सुनाउनुभयो ।‘एक दशकमा विश्वको कुल गार्हस्थ्य उत्पादन ७५ ट्रिलियन डलरबाट ११५ ट्रिलियन पुग्यो, तर राष्ट्रहरूबीच र भित्र असमानता झनै बढ्यो,’ उहाँले भन्नुभयो ‘जुन बेला ऐक्यबद्धता सबैभन्दा बढी आवश्यक थियो, त्यही बेला औपचारिक विकास सहायता खुम्चिँदै गयो।’
उहाँले पछिल्लो दशकमा अल्पविकसित देशहरूको ऋण तीन गुणाले बढेको तथ्यांक प्रस्तुत गर्दै भन्नुभयो ‘ऋणले दक्षिण, विशेषगरी अल्पविकसित देशलाई निसास्सिरहेको छ। व्यापार खण्डित छ, लगानी कमजोर छ र गरिबी उस्तै छ।’
प्रधानमन्त्री ओलीले विकसित देशहरूमा प्रविधिले फड्को मारिरहेको तर अल्पविकसित देशहरू गम्भीर प्राविधिक र डिजिटल खाडलमा परेको बताउनुभयो ।उहाँले जलवायु परिवर्तनको असरमाथि पनि गम्भीर प्रश्न उठाउनुभयो । ‘विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा १ प्रतिशतभन्दा कम हिस्सा भए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार अल्पविकसित देशहरूले खेपिरहेका दाबी समेत गर्नुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आजै पारित भएको सेभिया प्रतिबद्धताले नयाँ आशा जगाएको बताउँदै यसको इमानदार कार्यान्वयनमा जोड दिनुभयो ।प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति हुने बताउनुभयो ।
‘हाम्रो संकल्प दृढ छ, तर हाम्रा विकास आकांक्षाहरू पूरा गर्न विकास साझेदारहरूको बलियो समर्थन आवश्यक छ,’ उहाँले भन्नुभयो उहाँले सेभिया प्रतिबद्धताको सह(सहजकर्ताको रूपमा नेपालले नर्वे, जाम्बिया र मेक्सिकोसँग मिलेर काम गर्न पाएकोमा गर्व व्यक्त गर्नुभयो ।