ताप्लेजुङको आठराई त्रिबेणीको आठ उपलब्धी

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आफ्नो तीन वर्षे कार्यकालमा मुख्य ८ उपलब्धि सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८२।०८३ को नीति, कार्यक्रम र बजेट ल्याउनु अघि पालिका अध्यक्ष दीपेन्द्र पोमू ले २०७९ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकालमा भएका ८ मुख्य उपलब्धी सार्वजनिक गर्नु भएको हो ।
अध्यक्ष पामुले अनुसार प्रमुख प्रशासकीय भवन, भवनको भित्रै भलिबल समेत खेल्न मिल्ने कभर्डहल जस्ता दिगो प्रकृतिका संरचना निर्माण, पालिकाका ५ वटै वडामा बर्थिङ सेन्टर सञ्चालन समेतका कार्य आफू नेतृत्वको पालिका टिमले गरेको छ । पोमूका अनुसार चालु आर्थिक वर्ष भित्रै नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु हुनेगरि तयारी गरिएको छ ।
पालिका भरीका सेवाग्राहीको घरायसी प्रयोजनमा खपत भएको विद्युतको महशुल पालिकाले तिरिदिने, २०८३ भदौ भित्रमा पालिकालाई फुसको छानो मुक्त पालिका घोषणा गर्ने अन्तरगतका कार्य, कक्षा १२ सम्मको शिक्षा निःशुल्क, पालिका र मातहतका सबै सरकारी कार्यालयमा फाइबर नेट जडान, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, जेष्ठ नागरिकका लागि निःशुल्क चश्मा र दन्त उपहार सेवा प्रदानलाई पालिकाले मुख्य ८ उपलब्धीको रुपमा लिएको छ ।