पाथीभरा याङवरकले दियो कृषकलाई ट्र्याक्टर

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर सहितका कृषि उपकरण प्रदान गरेको छ ।
पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत संगम पौडेल, वडाध्यक्ष तथा कार्यपालिका सदस्य सहितको उपस्थितिमा शुक्रवार किसानलाई २० थान हाते ट्र्याक्टर सहित स्प्रेयर र टनेल समेत हस्तान्तरण गरिएको पालिका अध्यक्ष सुब्बाका स्वकीय सचिव तेजविर मेन्याङवोले जानकारी दिनुभयो । उहाँका अनुसार मागका आधारित कृषि कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कृषि औजार सामग्री हस्तान्तरण गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि ठूलो मात्रामा लगानी गर्दै आइरहेको छ । उसले उत्कृष्ट ४ किसानलाई पालिकाको स्थापना दिवसको अवसर पारेर हरेक बर्षको फागुन २७ गते नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गर्दै आइरहेको छ । पालिकाले खेति उत्पादनका आधारमा पकेट कार्यक्रम समेत लागु गरेको छ । पालिकाका कृषि शाखा प्रमुख निकेश भट्टराईका अनुसार संघीय सर्शत अनुदानसहितका पाथीभरा याङवरक गाउँपालिकामा करिव एक करोड हाराहारी रकम कृषि क्षेत्रमा खर्च गरिदैँ आएको छ ।
पालिका अध्यक्ष सुब्बाले किसानसमेत व्यावसायिक खेति प्रणालीका लागि प्रोत्साहित हुँदै आएको बताउनुभयो । पालिकाले उत्पादनपछि बजारीकरण सुनिश्चित गर्ने तथा भण्डारणका लागि समेत योजना बनाउने तयारी गरेको जनाएको छ ।-eujyalopost