कैलालीमा चल्यो गोली, दुई जना नियन्त्रणमा
काठमाडौ । कैलालीमा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ।
ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिन बिहीबार अपराह्न पौने ४ बजे प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंहले जानकारी दिए।उनका अनुसार भजनी गाउँपालिका वडा नम्बर ७ मा गोली चलेको हो।गोली चलाएर प्रहरीले रिदम ढुंगाना र मिलन चन्दलाई पक्राउ गरेको हो। उनीहरूको खुट्टामा चोट लागेको छ।प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो भने त्यसपछि उनीहरूमाथि प्रहार गरेको थियो।उनीहरूले गत जेठ १२ गते टिकापुरमा एक जना पुरूषमाथि खुकुरी प्रहार गरेको आरोप छ। खुकुरी प्रहारबाट घाइते भएका ती पुरूषको उपचार पछि डिस्चार्ज भइसकेका छन्।
यता गोली लागेर घाइते भएका व्यक्तिहरूको भने उपचारको लागि अस्पताल लगिएको छ।



















