ताप्लेजुङ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा (फोटो फिचर)

वेलकम खबर
जेष्ठ २८, २०८२

ताप्लेजुङ । ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय ताप्लेजुङद्वारा बुधबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमका बिच पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिको अध्यक्ष एवम् जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा ताप्लेजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

एक नगरपालिका र आठ गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा भएसँगै जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख कुलबहादुर पौडेलले जानकारी दिनुभयो। पूर्णखोप जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालयका कोल्चेन निरीक्षक दिनेश रायले जिल्लाको खोप गतिविधिबारे प्रस्तुति राख्नुभएको थियो।

कोल्चेन निरीक्षक रायका अनुसार गत वर्ष जिल्लाभरका सात हजार १२ जना लक्षित बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन्। उक्त सङ्ख्यामध्ये जन्मेर १५ महिना सम्मका शिशु एक हजार ७०४ जना र १६ देखि ५९ महिना सम्मका पाँच हजार आठ जना रहेको उहाँले जानकारी दिनुभयो। लक्षित सबै शिशु तथा बालबालिकालाई आवश्यक खोपको मात्रा लगाएसँगै जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न सम्भव भएको स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताउनुभयो।

यता जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा पूर्णखोप अभियानका लागि उत्कृष्ट योगदान गर्ने प्रत्येक पालिकाका एक–एक वटा स्वास्थ्य संस्थालाई नगदसहित सम्मान गरिएको छ। यस्तै पूर्णखोप अभियानमा सूचकका आधारमा तीन वटा स्थानीय तहलाई उत्कृष्ट पालिका घोषणसमेत गरिएको छ। जसमा आठराई त्रित्रेणी गाउँपालिका प्रथम, फक्ताङ्लुङ गाउँपालिका दोस्रो र मैवाखोला गाउँपालिका तेस्रो घोषित भएका छन्।

पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा सहितका जनप्रतिनिधि, जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसी, सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्कालगायत विभिन्न कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो। त्यस्तै स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत पशुपति खनाल, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि डा। सङ्गीता शाह लगायतको उपस्थिति रहेको थियो।

-gorkhapatraonline

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*