मैवाखोलाद्वारा आगामी आवको नीति कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित )

वेलकम खबर
जेष्ठ २८, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँपालिकाले मङ्गलबार गाउँसभा तथा १७ औं बजेट अधिवेशन आयोजना गर्दै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

अधिवेशनमा गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। गाउँसभा तथा बजेट अधिवेशनमा १४ पृष्ठको नीति कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिका अध्यक्ष वनेमले अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइने उल्लेख गर्नुभएको छ।

गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, सभ्य, अनुशासित, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति सकारात्मक, वैज्ञानिक सोच बोकेका नैतिकवान नवप्रवर्तनशील, रचनात्मक, सिर्जनशीलसहित सक्षम जनशक्तिको विकास गर्नेगरी शिक्षा नीति अवलम्बन गरी कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ। यस्तै गाउँपालिकाले विद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्ने, नागरिकलाई आधारभूत र गुणस्तरीय स्वास्थ्यमा समतामुलक पहुँचको सुनिश्चित गर्नेगरी स्वास्थ्य तथा जनसङ्सख्यासम्बन्धी नीति लागु गर्ने भएको छ।

लैङ्गिक विभेदलाई न्युनीकरण गर्न गाउँपालिकाभित्रका महिला तथा आमा समूहलाई आवश्यक तालिम प्रदान गरिने छ। बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने कार्यक्रम कार्यान्वयन गर्र्नेगरी बालबालिकासम्बन्धी नीति अवलम्बन गरिने भएको छ। खानेपानी तथा सरसफाइसम्बन्धी नीति, कला, भाषा, साहित्य र सम्पदासम्बन्धी नीति, पूर्वाधार विकास, आर्थिक विकास, कृषि तथा सहकारी नीति, सिँचाइ, पशुपक्षी विकास लगायतका नीति कार्यान्वयन गर्ने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ।

गाउँसभा तथा अधिवेशन गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, सभा-सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन, वडाध्यक्षसहितका जनप्रतिनिधिको सहभागितामा सम्पन्न गरिएको प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो। ताप्लेजुङका नौ स्थानीय तहमध्ये आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेमा मैवाखोला गाउँपालिका पहिलो भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*